बैंकास्योरेन्स गर्दा एक बीमितले पाएको दुःखको कथा, सिद्धार्थ इन्स्योरेन्स र बीओके पीडक

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका एक अभिकर्ताले सिद्धार्थ इन्स्योरेन्स र बैंक अफ काठमाडू (बीओके)ले एक बीमितलाई सास्ती दिएको घट्ना खुलासा गरेका छन् । उनले विगतमा बैंकले माछा व्यवसायको बीमा गराएको र व्यवसाय बाढीले नाश गरेपछि दाबी भुक्तानी नदिएर बीमितलाई बैंक र बीमा कम्पनीले हैरानी दिएको सुनाए । 

बीमितको गुनासो सुन्ने नेपाल लाइफका वरिष्ठ अभिकर्ता नन्दप्रसाद तिवारी हुन् । उनी अभिकर्ताहरूको संस्थाका अध्यक्ष पनि हुन् । बीमितले आफू समस्यामा परेको भन्दै तिवारीसँग मद्दत माग्न पुगेका थिए । तर तिवारीले पीडितको नाम भने खुलाउन चाहेनन् । उनले बीमितको पीडा सुनाउँदै कर्पोरेट नेपालसँग भने, ‘हामी कहिले पनि बैंकास्योरेन्सको समर्थनमा छैनौ । अभिकर्ता भएको ठाउँमा यस्ता घट्ना घट्दैनन् । समस्या पर्दा बीमितलाई अभिकर्ता गुहार्न सहज हुन्छ । उहाँले पाएको पीडा र हैरानी बयान गरिसाध्य छैन् ।’

Advertisement

यस्तो थियो घट्ना
बीओकेले बीमा गरायो । बैंकको सहकार्य सिद्धार्थ इन्स्योरेन्ससँग थियो । बैंकले नै बीमितलाई कर्जा दियो । कृषकले आफ्नो माछा पोखरीको बीमा गराए । ठूलो बाढी आएर बीमितको पोखरीमा क्षति पुग्यो । भारतदेखि ल्याएका माछाका भूरा पनि बाढीले बगायो । कृषकको योजना ध्वस्त भयो । कृषकलाई साढे तीन करोड रुपियाँ बराबरको क्षति भयो ।

बीमितले एक करोड ४० लाख रुपियाँको बीमा गरेका थिए । आफ्नो व्यवसाय बाढीले बगाएर क्षति भएपछि क्षतिपूर्ति पाउने आशामा पीडित बीओकेको सम्वन्धित शाखामा पुगे । त्यहाँ कुरा गर्दा बीमा कम्पनीमा जानुपर्ने औंल्याइयो र उनी सिद्धार्थ इन्स्योरेन्स पनि गए । दुवैतिर कुरा गर्दा क्षतिपूर्ति नदिने संकेत देखियो । बीमा कम्पनी र बैंकले दुःख दिएपछि उनी अभिकर्तासँग गुहार माग्न पुगे । 

तिवारी भन्छन्, ‘हामी जस्ता अभिकर्ताले बीमा गराएको भए क्षति भएको भोलिपल्ट नै बीमा कम्पनीलाई जानकारी दिन्थ्यौं । सम्बन्धित निकायहरुमा हामी मुचुल्का बनाउन लगाउँथ्यौं । त्यहाँबाट अभिकर्ताले दाबी भुक्तानीको लागि माग गथ्र्यो । बीमितले सास्ती भोग्नु पर्दैन्थ्यो ।’ 

उनले बीमितको परियोजनामा तीन करोड रुपियाँ क्षति भए पनि पाउनुपर्ने बीमा रकम आधा पनि थिएन भन्दै तर बैंक र बीमा कम्पनीले अनावश्यकरुपमा बीमितलाई दुःख दिएको सुनाए । तिवारीले यो एउटा प्रतिनिधिमूलक घट्ना मात्रै भएको बताउँदै अभिकर्ताबिना भएका बीमामा बीमितले धेरै खालका हण्डर र सास्ती भोग्नुपर्ने समस्या रहेको बताए । 

पीडितका अनुसार बीओकेले ऋण दिएको हो र अब बीमाको दावी भुक्तानीको काम बैंकले नै मिलाउछ भन्दै सिद्धार्थ इन्स्योरेन्सले बीमितलाई बैंकमा सम्पर्क गर्नु भनेर पन्छाउँदै आयो । बीमितले पनि बैंकमा पुगेर पटक पटक बीमाको पैसा पाउन अनुरोध गरे । बीओकेले हामी हेरौंला कति आउँछ के आउँछ त्यही अनुसार हेरेर फोन गरौंला भन्दै पन्छिदै आयो । तर बीमा कम्पनीमा भने उनको दाबी परेन । बीमितले बीमाबाट पैसा आउँछ भनेर लामो समय कुरे । तर आएन् । 

किन बीओकेले यस्तो गर्यो ? 
बीमितले ऋण लिँदा चर्कोमा पर्ने महंगो जग्गा धितोमा राखेका थिए । उक्त जग्गामा बैंकका अधिकारीहरूको आँखा लाग्न थालेको विस्तारै खुल्न थाल्यो । बीमितलाई बीमा दावी भुक्तानी गराएर ऋण मिलाउनपट्टि लाग्नुभन्दा उक्त आकर्षक जग्गा लिलामी गर्न सके फाइदा हुने देखियो । 
 
बीमितलाई बीमा दावी भुक्तानीमा अल्मल्याउँदै आएको बीओकेले विस्तारै जग्गा लिलामी प्रक्रिया अघि बढाउन थाल्यो । बीमितलाई ऋण तिर्न दबाब दिन थाल्यो । आर्थिकरुपमा कमजोर भइसकेका बीमित न्यायका लागि कानुनी लडाईं लड्नसक्ने अवस्थामा पनि थिएनन् । उनको पक्षमा बोल्ने दलका नेता, मिडिया, प्रशासक कोही थिएन् । 

वरिष्ठ अभिकर्ता तिवारीले पीडित माछा व्यवसायीको जस्ता बीमा क्षेत्रका पीडाहरू बाहिर ल्याउन सके मात्रै यो क्षेत्रको विकृति कम हुने बताउँछन् । उनले नेपालको बीमा क्षेत्रमा सुधार गर्नुपर्ने धेरै कुरा छन्, तर ती बाहिर आउन सकेका छैनन् भन्दै बैंकले बीमा गर्दा बीमाप्रतिको विश्वास घट्ने बताउँछन् । तिवारी भन्छन, ‘विश्वास कायम नगरी गरिने बीमा त ठगी हो । के ठग्नलाई लाइसेन्स दिने हो ?’

बैंकास्योरेन्सलाई नेपाल राष्ट्र बैंकले रोक लगाइसकेको छ । बैंकास्योरेन्सप्रति अभिकर्ताहरू पनि सन्तुष्ट छैनन् । उनीहरूका अनुसार यसले अभिकर्ताको रोजीरोटी खोस्ने मात्रै नभएर बीमा क्षेत्रमा धेरै विकृति जन्माउने काम पनि गरेको बताउँछन् । मौद्रिक नीतिले बैंकास्योरेन्स खुल्ला गरेमा आफूहरुले त्यसलाई स्वीकार नगर्ने तिवारीको भनाई छ । यता बीमा समितिले भने बैंकास्योरेन्सको विषयमा सबै काम राष्ट्र बैंकले गर्ने भएकाले त्यसमा अहिले आफूहरुले नबोल्ने बताएको छ । 

Advertisement

Advertisement