काठमाडौं । बीमा समितिमा लामो समयदेखि काम गर्दै आएका एक कर्मचारीले बीमितको सन्तुष्टिलाई प्राथमिकतामा राखेर काम गर्न समितिले नसकेको भन्दै तीतो अनुभव सुनाएका छन् ।
समितिका सहायक निर्देशक पदमा कार्यरत शम्भुप्रसाद मिश्र विगत दुई दशकदेखि कार्यरत छन् । समितिको विभिन्न फाँटका काम गरेर लामो अनुभव लिइसकेका उनले कर्पोरेटकर्मी बीमा क्षेत्रसँग जोडिएका तीता अनुभवहरू सुनाए । साथै, आफ्ना योजना अर्थात इच्छा पनि उजागर गरे । बीमा क्षेत्रको नियमन र विकास गर्ने संस्थामा रहेर पनि यस क्षेत्रको सुधारका लागि समितिले पर्याप्त काम गर्न नसकेकोमा मिश्र चिन्तित छन् ।
मिश्रको अनुभव ?
बीमामा काम गर्ने जो कोहीले आफ्नो बाट कति जना सन्तुष्ट छन् ? भन्ने खोजी गर्नुपर्छ । बीमा अन्य पेशाभन्दा फरक रहेकाले बीमितको प्रतिक्रिया, सन्तुष्टिलाई ख्याल गर्नुपर्छ । बीमा क्षेत्रमा विभिन्न किसिमका विकृति छन् । तर बीमाको पहुँच बढाउने ठाउँमा भने जति काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन् ।
बीमाको प्रमुख उद्देश्य भनेको बढिभन्दा बढी जनताले बीमामा सहभागी हुनुपर्छ र उनीहरूको जोखिमको सुरक्षण हुनुपर्छ भन्ने हो । राज्यले पनि बीमालाई प्राथमिकतामा राख्नुपर्छ । बीमामा बढि भन्दा बढि जनताको सहभागीता हुनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । तर अहिले अवस्था त्यस्तो छैन् ।
मिश्रको अनुभवमा बीमा कम्पनीले बेच्ने कुनै पनि पोलिसिमा यो बजारमा कति समय टिक्न सक्छ ? भन्ने कुरालाई ध्यान दिएको देखिन्न् । नेपाली बजार सुहाउँदो प्रोडक्ट ल्याउन सके त्यसले बीमा समिति, कम्पनी तथा बीमित सबैलाई हुने थियो ।
मिश्रको के छ इच्छा ?
एक लाखको पोलिसि बेच्दा त्यसले बीमा बजारमा कस्तो असर पारिरहेको छ ? भन्ने अध्ययन प्रतिवेदन कसैसँग नरहेको मिश्रको तर्क छ । त्यो पोलिसि ल्याउन लाग्ने खर्च कतिसम्म हुनुपर्ने हो ? अहिले भइरहेको खर्च कति छ ? भन्ने विषयमा समिति आफैले ध्यान पुर्याउन जरूरी रहेको उनी बताउँछन् ।
मिश्रले भने, ‘बीमा पोलिसिको प्रभावकारिता अध्ययन गरौं भन्दा हाम्रो बीमा समितिमा मान्छे खुशी नहोलान् । बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि खुशी नहोलान् । तर मैले भनेको कुरा, मेरो अनुभव, बीमितको आवश्यकतासँग सम्बिन्धत छ । यसले सबै बीमितलाई पक्कै खुशी बनाउँछ । त्यसैले मलाई बीमितको सन्तुष्टि अध्ययन गर्ने संस्था खोल्न मन छ ।’ हरेक क्षेत्रमा ग्राहकको अधिकारकै कुरा गरिन्छ । तर बीमा क्षेत्रमा बीमितको सन्तुष्टी के कस्तो हुनुपर्छ ? भन्ने विषयमा कहिल्यै खोजी भएको छैन् । त्यस्तो खोजीको लागि संस्था खोल्ने मिश्रको चाहना छ ।
नेपालमा बीमामा गर्नुपर्ने काम धेरै भए पनि काम हुन नसकेको उनको भनाई छ । बीमा बजार बढेमा बीमा समितिका सबै हामी कर्मचारी खुशी हुन्छौं भन्दै मिश्रले आफूलाई सबैभन्दा बढि चिन्ता लाग्ने गरेको विषय पनि बीमा बजारलाई कसरी व्यापक बनाउने ? र बीमितको अधिकार कसरी सुरक्षित गर्ने ? भन्ने रहेको बताए ।
जनताले बीमा कतिको बुझेका छन् ? भन्ने पाटो पनि निकै महत्वपूर्ण रहेको भन्दै उनले भने, ‘साच्चै भन्दा पाँच प्रतिशत जनताले पनि बीमा बुझेर बीमा गरेका छैनन् ।’ बीमा कम्पनीहरूले जबरजस्ती र अस्वस्थ प्रतिस्पर्धामा व्यवसाय बढाउनले खेलामा लाग्दा त्यसको असर बोनससम्म पर्ने गरेको मिश्र बताउँन् ।
नयाँ कम्पनीले गर्ने बजारीकरणमा कडाई गर्यो भने भोलि कम्पनी नै धरासयी हुने जोखिमको पक्ष पनि छ भन्दै उनले त्यसरी एउटा मात्रै बीमा कम्पनी खारेज भयो भने पनि बीमा समिति र समग्र बीमा उद्योगको लागि राम्रो समाचार हुँदैन भने ।
बीमा क्षेत्रमा लविङ्को घट्नाले पनि समस्या निम्त्याउने गरेको छ । माथिबाटै कसैको भनसन वा पहुँच देखाएर कानुनी बाटो छल्दा त्यसको मार बीमितले खेप्नुपर्ने अवस्था रहँदै आएको छ । बीमा समितिका राजनीतिक नियुक्ति हुने भएकाले विभिन्न अवस्थामा स्वार्थ बाँमिmन पुग्छ भन्दै मिश्रले तर बीमा भनेको स्वार्थमा अड्किएर भन्दा पनि विश्वासले निरन्तरता पाएर चल्ने व्यवसाय हो भन्छन् ।
नियमनकारी निकाय भएकाले समितिले कमी कमजोरीबारे खुलेर बोल्नुपर्ने बाध्यता हुने उनको तर्क छ । मिश्रले बीमा समितिले गर्ने सुपरीवेक्षण र निरीक्षणलाई जति कडाइका साथ पालन गर्न सक्यो, त्यति नै बीमा क्षेत्र लाभान्वित हुन्छ भन्दै अनसाइट अफसाइट निरीक्षण दुवै बढाउन जरूरी रहेको बताए ।
बीमा समितिले त्यस्ता निरीक्षणको नतिजा छिटो र नियमित रूपमा सार्वजनिक गर्दा बीमितलाई नै राम्रो हुने बताए । मिश्रले भने, लामो समय बीमा क्षेत्रको नियमनकारी निकायमै काम गरेपछि मलाई लाग्न थालेको छ, हामीले यति धेरै मेहनत गरेका छौं । तर हाम्रा बीमितले त्यसको आभास कहिले गर्न पाउनु हुन्छ ? थाहा छैन् ।’
बीमा समिति र कम्पनीको सम्बन्ध श्रीमान् श्रीमती जस्तै
मिश्रले बीमा समिति र बीमा कम्पनीको सम्बन्ध श्रीमान श्रीमतीको जस्तो रहेको हुने गरेको बताए । विगतबाटै बीमा समितिले निर्देशन दिए जस्तो गर्ने र बीमा कम्पनीले पनि सहमत जनाएको जस्तो मात्रै गर्ने गरेको उनी बताउँछन् । बीमा समितिले बीमितहरूकै भनाईलाई आधार बनाएर काम कारबाही गर्न आवश्यक रहेको मिश्रले बताए ।