झण्डै दोब्बरले बढ्यो जीवन बीमाशुल्क, राष्ट्रिय बीमा संस्थानलाई नेशनल लाइफले उछिन्यो

Advertisement

काठमाडौं । गत आर्थिक वर्ष २०७७–७८ मा जीवन बीमा कम्पनीहरूले एक खर्ब २० अर्ब रूपियाँ बीमाशुल्क संकलन गर्न सफल भएका छन् । आर्थिक वर्ष २०७६–७७ मा कम्पनीले आर्जन गरेको बीमाशुल्क जम्मा ६२ अर्ब चार करोड रूपियाँमा खुम्चिएको थियो । अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा गएको आर्थिक वर्षमा जीवन बीमा कम्पनीको बीमाशुल्क ५८ अर्ब रुपियाँले बढेको हो । उक्त शुल्कमा कम्पनीको प्रथम बीमाशुल्क, नवीकरण बीमाशुल्क र वैदेशिक रोजगार बीमाशुल्क पनि समावेश छ ।

अघिल्लो आर्थिक वर्षमा १८ अर्ब ७० करोड रूपियाँ बीमाशुल्क संकलन गर्दै अग्रस्थान कायम गरेको नेपाल लाइफ इन्स्योरेन्सले गएको आर्थिक वर्षमा पनि ३२ अर्ब ८४ करोड रूपियाँ बीमाशुल्क आर्जन गर्दै अग्रता कायम गरेको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्षमा १० अर्ब ३८ करोड रूपियाँ आर्जन गर्दै दोस्रो स्थान कायम गरेको एलआईसी नेपालले गएको आर्थिक वर्षमा १७ अर्ब १४ करोड रूपियाँ बीमाशुल्क आर्जन गर्दै दोस्रो स्थान सुरक्षित गरेको छ ।

Advertisement

साथै, अघिल्लो आर्थिक वर्षमा छ अर्ब ५० करोड रूपियाँ बीमाशुल्क आर्जन गर्दै तेस्रो स्थानमा राष्ट्रिय बीमा संस्थान रहेको थियो । तर गएको आर्थिक वर्षमा १२ अर्ब १६ करोड रूपियाँ बीमाशुल्क संकलन गर्दै नेशनल लाइफ तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।

बीमितः लकडाउनमा घटे, खोलेपछि बढे
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख  कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंका अनुसार कोरोना महामारीका कारण भएको लकडाउनको समयमा बीमा गराउनेको संख्यामा केही कमी भए पनि लकडाउन खुलेसँगै संख्या बढेको छ । सोही कारण आर्थिक वर्षको अन्तिममा आईपुग्दा ठूलो नकारात्मक प्रभाव देखिन पाएन ।

उनले कर्पोरेट नेपालसँग भने, ‘कोरोना महामारीले प्रभाव त पार्यो । तर, त्यो प्रभाव निरन्तर एक वर्षसम्म नै परेको होइन । यसको मतलब लकडाउनपछि पनि नागरिकले बीमा गर्ने मौका पाउनु भयो । बीमा गराउनेको संख्या बढ्न पायो, जीवन बीमाले निरन्तरता पायो । अर्को कुरा भनेको बैंकहरूको नाफामा वृद्धि भएको छ । बैंक राम्रो हुँदा बीमा पनि राम्रो भएको अवस्था छ । अहिलेको वित्तीय संस्थाहरूको सूचक राम्रै छ । यस्तो अवस्थामा बीमा कम्पनीका सूचकांक पनि सकारात्मक नै छन् ।’

जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७६–७७ र २०७७–७८ मा आर्जन गरेको बीमाशुल्कको अवस्था

Advertisement

Advertisement