रु. तीन अर्ब ७० करोडको बीमा दावी भुक्तानी गर्न सिद्धार्थ इन्स्योरेन्सद्धारा आनाकानी, सीईओ मौन

Advertisement

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले महाकाली नदीमा आएको बाढीका कारण नष्ट भएको तीन अर्ब ७० करोड रूपियाँ बराबरको सामानको दाबी भुक्तानी गर्न आलटाल गरेको छ । स्रोतले दिएको जानकारी अनुसार पीडितले दाबी रकममा कम्पनीले दुःख दिनुसम्म दिएको जानकारी दिए । 

सिद्धार्थ इन्स्योरेन्सबाट पीडित बीमितको नाम हो ‘सुशील श्रेष्ठ’ । उनले निर्माण सामग्रीको बीमा गराएका थिए । उनले बीमा सम्झौताअनुसार बाढीबाट सामानको क्षति भएपछि दाबी रकम माग गरे पनि कम्पनीले विभिन्न बहाना बनाउँदै भुक्तानी दिन आलटाल गरेको गुनासो गर्दै आएका छन् ।

Advertisement

सिद्धार्थ इन्स्योरेन्सले पानीको बहाबमाथि प्रश्न उठाउँदै दावी भुक्तानी गर्न आनाकानी गरेको पीडितको गुनासो छ । नेपालमा नदीको कस्तो बहाबलाई बाढी मान्ने ? भन्ने कुराको जाँच गर्ने यन्त्र छैन् । पानीको बहाबको तर्क गरेर पीडितलाई बीमा दावी भुक्तानी गर्न नमिल्ने जानकारहरू बताउँछन् । 

बीमित श्रेष्ठले कर्पोरेट नेपालसँग भने, ‘ठूलो क्षति भएकाले बीमा कम्पनीले पैसा दिन सात–आठ महिना लागे पनि केही थिएन । तर यहाँ त नयाँ नयाँ तर्क गरेर भुक्तानी नदिने खालको कुरा गर्न थालेपछि चिन्ता बढेको हो । बीमा कम्पनीले आलटाल आलटाल गर्न थालेपछि आफूले मिडियामा यो कुरा ल्याउन बाध्य भएको पनि सुनाए । 

बीमितले क्षतिको विवरण बीमा कम्पनीलाई उपलब्ध गराईसकेका छन् । कम्पनीको सर्भेयरले पनि क्षतिको विवरण संकलन गरिसकेको उनले बताए । आफू अहिले सिद्धार्थ इन्स्योरेन्सको निर्णयको पर्खाईमा रहेको श्रेष्ठले सुनाए । बीमा कम्पनीले पैसा नै दिँदैनौ भनेर औपचारिक रूपमा नभनेको बताउँदै उनले अन्य बीमा कम्पनीका सीईओ र इन्स्योरेन्स क्षेत्रका जानकारहरूसँग पनि यस विषयमा कुरा गरिरहेको बताए ।  

बीमित श्रेष्ठले भने, ‘क्षति भएपछि बीमा कम्पनीले हामीलाई आवश्यक काजजाज माग्यो । हामीले तत्काल बुझाउन  सकेनौं । ढिलै भए पनि हामीले कम्पनीको मागअनुसार कागजपत्र बुझाउँदै गएका छौं । अहिलेसम्म सिद्धार्थ इन्स्योरेन्सले पैसा दिन्न भनेको छैन । तर यस्ता शर्त पूरा नभएको भन्ने गरेकोले पैसा नदिने योजना हो कि ? भन्ने हामीलाई लागेको छ ।’ 

पीडित श्रेष्ठले थपे, ‘हाईड्रोलोजी, मेट्रोलोजीको अभाव भएका कारण महाकालीको बाढी नाप्न समस्या भयो । त्यसैले पनि कागजपत्र बुझाउन केही ढिलो भएको हो । तर क्षति भएकै हो । धेरै प्रमाणहरू बुझाइकेका छौं ।’ सर्भेयरले समेत रिपोर्ट बुझाइसकेकोले कम्पनीले क्षतिपूर्ति दिन दिलाई गर्न नहुने उनी बताउँछन् । 

सिद्धार्थ इन्स्योरेन्स मौन
सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र वैद्यबारलाई कर्पोरेट नेपालले सोध्दा कुनै प्रतिक्रिया दिन चाहेनन् । उनले म्यासेज पठाउँदै बुझेर समाचार लेख्न आग्रह गरे । 

Advertisement

Advertisement