सम्पत्ति बीमा अनिवार्य गर्ने तयारी, पहिलो चरणमा काठमाडौं उपत्यकाका घर निर्माणमा लागू हुने

Advertisement

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले सम्पत्ति (घर) बीमा अनिवार्य गर्न लागिएको खुलासा गरेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले  पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र घर बनाउँदा सम्पत्ति बीमा अनिवार्य गर्नुपर्ने प्रावधान लागू गर्न लागिएको बताए । 

सम्पत्ति बीमाको पहुँच वृद्धि गर्न नीतिगत रूपमा नै अघि बढ्न लागिएको भन्दै सिलवालले यस्तो बीमामा अधिकांश नागरिकको सहभागिता बढाउन कार्ययोजना बनाएर अघि बढने अन्तिम तयारी भएको बताए । 

Advertisement

उनले कर्पोरेट नेपालसँग भने, ‘घर बीमा गराउन कम्पनीहरू सक्षम छन् भने त्यसका लागि निर्देशन दिन पनि बीमा समिति आफैमा सक्षम नै छ । घर बीमा अनिवार्य गराउने विषयमा काठमाडौं, भक्तपूर र ललितपूर महानगरपालिकाका मेयरहरूसँग छलफल गरेर यस विषयलाई टुङ्याइन्छ । अनिवार्य गरेपछि बीमा नभएको कुनै पनि घरको नक्सा पास हुँदैन ।’ 

घर बीमाको शुल्क सस्तो हुने भएकाले त्यसलाई सबैले बुझ्नुपर्ने र सकारात्मक लिनुपर्ने सिलवालको तर्क छ । उनले थपे, ‘अहिले एक करोड रूपियाँको घरको बीमा गर्न जम्माजम्मी साढे चार हजार रूपियाँ पर्छ । त्यति तिरेको भोलिपल्टै घरको क्षति भएमा एक करोड रूपियाँ कम्पनीहरूले दिन्छन् । यति सस्तो र आवश्यक बीमामा पनि नागरिकले किन लोभ गर्ने । चार हजारको लोभ भन्दा पनि त यहाँ बीमाको महत्व ठूलो हो नी ।’

घर बीमाका लागि स्थानीय निकायमा रहेका मूख्य व्यक्तिले नै राम्रोसँग बीमाको महत्वलाई बुझ्नुपर्ने सिलवालको भनाई छ । उनले नीति निर्माण गर्ने व्यक्तिले घरको बीमाको बारेमा बुझ्यो भने मात्रै नीति निर्माण र देशव्यापीरूपमा बन्ने भौतिक संरचनाको बीमा गर्न सहज हुने बताए । 

सिलवालले अहिले कुनै पनि महामारीमा सरकारलाई राहत र अनुदान निकै टाउको दुखाइको विषय बन्ने गरेको स्मरण गर्दै घर बीमा अनिवार्य गरेपछि यस्तो अनुदान र राहतको चिन्ता लिनुनपर्ने र बीमाले नै क्षतिपूर्ति दिने भएकाले घर बीमा अनिवार्य गर्नुपर्ने बताए । 

बीमा समितिले सम्पत्ति बीमा गर्दा ठूला र साना घरका लागि दुई किसिमका बीमाशुल्क तोकेको छ । ठूला भवन र महलकोभन्दा साना र झुपडी प्रकारका घरको बीमा गर्दा बीमाशुल्क केही सस्तो हुनेगर्छ । 

दश लाख रुपियाँसम्म पर्ने झुपडीको बीमा गर्दा बार्षिक बीमाशुल्क चार सय रुपियाँ तिरे पुग्छ भने एक करोड रुपियाँसम्मको घरको बीमा गर्दा चार हजार रुपियाँ तिरे पुग्छ । सोभन्दा महंगा घर तथा भवनको बीमा गर्दा प्रतिहजार एक रुपियाँ ५० पैसा बीमा शुल्क तिर्नुपर्ने व्यवस्था सम्पत्ति बीमासम्वन्धी निर्देशिकामा गरिएको छ ।

यता, निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले पनि घर बीमा अनिवार्य गर्नु भनेको जनताकै हितको कुरा हो भन्छन् । घर बीमा अनिवार्य गर्दा बीमा कम्पनी, बीमित र राष्ट्र सबै लाभांवित हुने उनीहरूको भनाई छ । 

अध्यक्ष सिलवालले धेरै मानिस गरिबीको रेखामुनी रहेकाले अब बीमाले पनि त्यस्ता मानिसलाई प्रत्यक्ष साथ दिनुपर्ने बताए । 

Advertisement

Advertisement