काठमाडौं । बीमा समितिले नै जीवन बीमा कम्पनीहरूको बोनस दरमा व्यापक रूपमा परिवर्तन हुन लागेको खुलासा गरेको छ । हालसम्म अन्तरिम बोनस दरमै बीमा गराउँदै आएका कम्पनीको पनि यसमा परिवर्तन गर्न लागेका छन् ।
समितिका अध्यक्ष सूर्य सिलवालले भने, ‘अब सबै जीवन बीमा कम्पनीहरूको बोनस दरमा परिवर्तन हुन्छ । राष्ट्रिय बीमा संस्थानले लामो समयदेखि अन्तरिम बोनस दरमा नै बीमा गराउँदै आएको छ । यसपटक बीमा संस्थानको पनि बोनस दरमा परिवर्तन हुन्छ ।’
प्रत्येक वर्ष एक्चुरी भ्यालुयसन गर्दै बीमा कम्पनीहरूले आफ्नो बोनस दर घोषणा गर्नुपर्छ । तर राष्ट्रिय बीमा संस्थानले भने लामो समयदेखि भ्यालुयसनमा अटेर गर्दै आएको छ ।
अध्यक्ष सिलवालले सबै कम्पनीले समयमा नै बोनस दर घोषणा गर्नुपर्ने र त्यसमा सरकारी कम्पनी भनेर कुनै विशेष छुट नहुने बताए । उनले थपे, ‘सरकारी वा निजी जे भए पनि कम्पनी भनेको त कम्पनी हो । हरेक काम सबैले समयमा नै गर्छ ।’
सिलवालले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीसँग पनि छलफल भइसकेको र समयमा हुनुपर्ने कुनै काममा ढिलाई भए सिधै कारबाही गर्ने बताए । राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि पाठकले एक्चुरी भ्यालुयसन हुन नसकेका कारण बोनस दरमा परिमार्जन हुन नसकेको स्वीकार गरे ।
उनले भने, ‘हाम्रोमा अहिलेसम्म एक्चुरी भ्यालुयसन समयमा हुने सकेको छैन । त्यस्तो अवस्थामा कुनै पनि बीमा कम्पनीको अन्तरिम बोनस दर नै कायम हुने गर्छ । हामीले पनि विगतकै बोनसमा अहिले बीमा गराईरहेको अवस्था छ ।’ पाठकले २०६७ सालसम्मको मात्रै भ्यालुयसन गराएको जानकारी दिएका छन् ।
यसको मतलब एक दशकदेखि बीमा संस्थानले ६५ रुपियाँ बोनस दर कायम गर्दै आएको छ । विगतमा बीमा कम्पनीहरूले प्रत्येक तीन वर्षमा आफ्नो बोनस दर परिवर्तन गर्नुपर्ने प्रावधान थियो । तर अहिले सो प्रावधानमा परिवर्तन भएको छ ।
बीमा संस्थानमा विगत दुई दशकदेखि आवद्ध अभिकर्ता गोपाल उपाध्याय भन्छन्, ‘बोनस दर समयमा नै परिवर्तन हुनुपर्छ । वास्तविकता जे छ, सोही अनुसार बीमा गराउँदा सबैलाई सहज हुन्छ ।’ उनले थपे, ‘बोनसको आधारमा पनि बीमा गराउनेको संख्या धेरै छ । बीमा समितिले बोनस दरलाई मात्र आधार बनाएर बजारीकरण नगर्नु भन्ने निर्देशन दिएको छ । तर कुनै पनि बोनस दर जति बढ्छ समग्र बीमा क्षेत्रलाई नै त्यति नै राम्रो हुने मेरो अनुभव छ ।’
आफूले कडाईको नीति लिने बित्तिकै ठूला बीमा कम्पनीको बोनस दर नै घट्ने समितिको तर्क छ । विगतमा जे जस्तो भए पनि बीमा कम्पनीको वास्तविक बोनस दर निर्धारणमा समेत समितिले कडाईको नीति लिन खोजेको हो ।
यस्तो छ हाल कायम बोनस दरको अवस्था
बीमा समितिले आर्थिक वर्ष २०६८–६९ देखि २०७५–७६ सम्मको बोनस दर सार्वजनिक गरेको छ । कम्पनीहरूले सोही आर्थिक वर्ष २०७५–७६ को बोनस दर नै चलाइरहेका छन् ।
बीमा समितिको वेभसाइटमा उपलब्ध सूचना अनुसार हालसम्म ११ जीवन बीमा कम्पनीहरूको बोनस दर मात्र सूचीकृत भएको छ । बीमा समितिले आगामी दिनमा बोनस दर निर्धारणमा थप कडाई गर्ने तथा मोडल परिवर्तन हुनसक्ने जनाएको छ ।