साधारणसभा गर्न नसकेको भन्दै २२ वटा बीमा कम्पनीलाई ‘क’ वर्गबाट हटाउने नेप्सेको तयारी
फाइल फोटो

Advertisement

काठमाडौं । समयमै आफ्नो वार्षिक साधारण सभा (एजीएम) सम्पन्न गर्न नसक्ने कम्पनीहरूको लाइसेन्स नवीकरण नै नहुने कानुनी व्यवस्था छ । हालसम्म १९ जीवन बीमा कम्पनी र तीन निर्जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७६–७७ को बार्षिक साधारण सभा गर्न अटेर गर्दै आएका छन् ।

ओरेन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले साधारण सभा गर्न अटेर गर्दै आएका छन् । तोकिएको समय अवधिभित्र कुनै पनि जीवन बीमा कम्पनीले आफ्नो एजीएम सम्पन्न गर्न सकेका छैनन् । यसको मतलब कानुनीरूपमा हेर्दा सबै जीवन बीमा कम्पनीहरूको लाइसेन्स फेल हुने अवस्था छ ।

Advertisement

तर यता बीमा समितिले भने एक–दुई कम्पनीको मात्र नभई सबै कम्पनीले साधारण सभा गर्न नसकेकाले त्यसमा केही विशेष समस्या रहेको हुनसक्ने तर्क गरेको छ । एकतिर कानुनी पाटो हुन्छ भने अर्कोतर्फ व्यवहारिक समस्या पनि हुन्छ भन्दै समितिले साधारणसभा ढिलाई हुनुमा व्यवहारिक समस्या रहेको स्वीकार गरेको छ । 

यता, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का प्रवक्ता मुराहरि पराजूलीका अनुसार समयमै आफ्नो वार्षिक साधारण सभा नगर्ने, वित्तीय अनुशासन र पारदर्शीता कायम नगर्ने कुनै पनि कम्पनी ‘क’ वर्ग ‘ए’ क्लासमा रहँदैनन् । 

उनले कर्पोरेट नेपालसँग भने, ‘अब ती कम्पनीहरू ‘क’ वर्ग, ‘ए’ क्लासको वर्गीकरणमा पर्दैनन् । कम्पनीका आफ्ना केही समस्या पनि हुनसक्छन् । कोरोना महामारीले ढिला भएको भन्ने तर्क पनि आउने गरेको छ । एक्चुरीको लागि नेपालले अरु देशसँग भर पर्नु परेकाले पनि ढिलाई हुने गरेको छ । यस्ता समस्या सरकार वा बीमा समिति वा अन्य सम्वन्धित निकायले हेर्नुपर्ने कुरा हो । हामीले हेर्ने भनेको उनीहरूले पब्लिक कम्पनीको रुपमा गर्नुपर्ने काम गरेको छ छैन् ? विवरणहरू बुझाएको छ छैन् ? हेर्ने हो ।’ 

पराजुलीले साधारण सभा नगर्दैमा सेयर कारोबार भने रोकिनहाल्ने जानकारी दिए । उनले सेयर बजार भनेको कम्पनीसँगसँगै लगानीकर्तासँग पनि जोडिने भएकाले लगानीकर्तालाई मर्का पर्नेगरी सिधै कारोबार भने रोकिनहाल्ने जानकारी दिए ।

तोकिएको वार्षिक साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीलाई बीमा समितिले १० हजार रूपियाँसम्म जरिवाना गर्नसक्ने कानुनी व्यवस्था छ । कम्पनी रजिष्ट्रारको कार्यालयले पनि वार्षिक साधारण सभा नगर्ने कम्पनीलाई कारवाही गर्नसक्छ । 

युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमारलाल कर्णले साधारण सभाका लागि नेपालमा एक्चुरीको संख्या कम हुनु नै मुख्य समस्या हो भने । उनले कर्पोरेट नेपालसँग भने, ‘बीमा कम्पनीले वार्षिक साधारण सभा गर्नुअघि आफ्नो वित्तीय विवरण बीमा समितिमा स्वीकृत गराउनुपर्छ । वित्तीय विवरण तयार गर्न एक्चुरी कै आवश्यक पर्छ । नेपालमा एक्चुरी नभएकाले बीमा कम्पनीले आफ्ना वार्षिक प्रतिवेदनहरू भारत पठाउनैपर्ने बाध्यता छ ।’ 


कर्णले थपे, ‘त्यहाँ पठाउँदा पनि एक्चुरीले धेरै कुरा थपघट गर्न लगाउँछन् । त्यसरी एक्चुरीसँग गर्ने काममा नै लामो समय खर्चनुपर्ने भएकाले बीमा कम्पनीले गर्ने साधारण सभामा ढिलाई हुन्छ ।’ आर्थिक वर्ष २०७५–७६ सम्मको वार्षिक साधारण सभा सक्किसकेको र आर्थिक वर्ष २०७६–७७ को विवरण तयार गर्नकालागि आफूहरू प्रयासरत रहेको उनले जानकारी दिए ।

अर्को एक जीवनबीमा कम्पनीका सीईओले समितिका कारण एजीएम गर्न ढिलाई हुँदा त्यसको मार आफूहरूले खेप्नुपरेको गुनासो गरे । बीमा समितिले फ्युचर बोनस प्रोभिजनिङको व्यवस्था तत्काल गर्न लगाउँदाको असर साधारणसभामा परेको भन्दै उनले समितिले बेला बेलामा जारी गर्ने अव्यवहारिक निर्देशन पनि यसको एउटा कारण भएको बताए । 

Advertisement

Advertisement