काठमाडौं । बीमा कम्पनीले एक अर्काको मुख ताक्दै बोनस दर निर्धारणमा ढिलाई गरिरहेको खुलासा भएको छ । बीमा कम्पनीहरूको बोनस दरमा व्यापक फेरबदल हुने भएसँगै कस्ले कति दर निर्धारण गर्छ ? भनेर ‘पर्ख र हेर’को अवस्थामा बसेका छन् ।
बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलका अनुसार बीमा कम्पनीको बोनस दर घटे पनि सो रकम भने रिर्जभमा रहन्छ । उनले कर्पोरेट नेपालसँग भने, ‘बीमा कम्पनीको बोनस दर घटे पनि पैसा अन्त कहीं जाँदैन । बीमितकै लागि सुरक्षित भएर बस्छ । फ्युचर बोनस प्रोभिजनिङले तत्काल बोनस घटाए पनि बजारमा एकरूपता र स्वस्थ प्रतिस्पर्धा कायम गर्न मद्दत गर्छ ।’
पौडेलले बीमा कम्पनीले बोनसलाई मात्रै देखाएर व्यापार गर्न नुहुने बताए । जीवन बीमा कम्पनीले चाँडै व्यालेन्ससिट पठाउनुपर्ने र बोनस दर निर्धारणमा ढिलाई गर्न नहुने उनको तर्क छ । पौडेल भन्छन्, ‘अर्को कम्पनीले ल्याउँछ अनि म ल्याउँछु भनेर बजार तलमाथि पार्नुभन्दा पनि आफ्नो बोनस दर सबैभन्दा अगाडि निर्धारण गर्न कम्पनीहरू लाग्नुपर्छ । बीमा समिति र कम्पनीको सञ्चालक समितिले नै बोनस दर निर्धारणमा ढिलाई भएमा आवश्यक एक्सन लिन्छन् ।’
त्यस्तै, एक जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले विगतमा जस्तो बोनस दर निर्धारण गर्न यसपटक बीमा कम्पनीले हतार नगर्ने बताए । ती सीईओले कर्पोरेट नेपालसँग भने, ‘विगतमा बोनस दर निर्धारण गर्न बीमा कम्पनीहरूले हानाथाप गर्ने गर्थे । सोही बोनसलाई नै बजारीकरणको माध्यम बनाउने गर्थे तर यसपाली भने सो अवस्थामा केही हेरफेर भएको छ ।’
ती सीईओले यसपटक बीमा कम्पनीको बोनस दर घट्ने निश्चित भएकाले नै कम्पनीले बोनस दर देखाउन हतार नगरेको खुलासा गरे ।
कसरी हुन्छ बोनस दरको निर्धारण ?
बोनस दरको निर्धारण गर्न बीमा कम्पनीले आफ्ना वित्तीय विवरणको भ्यालुयसन गर्नुपर्छ । बीमा कम्पनीले आफ्नो वित्तीय विवरण भ्यालुयसन गरेसँगै उनीहरूको वास्तविक अवस्था बीमांकी (एक्चुरी)ले पत्ता लगाउँछन् । एक्चुरीले बीमा कम्पनीको वास्तविक अवस्था पत्ता लगाएसँगै कम्पनीले कति बोनस दिन मिल्छ ? भन्ने निर्धारण हुन्छ । बीमा क्षेत्रका जानकारहरूले बोनसले बीमा कम्पनी र बीमित दुवैमा ठूलो सम्बन्ध राख्ने बताउँछन् । उनीहरूले बोनस धेरै हुँदा बीमितलाई लाभ हुने तथा बोनस कम हुँदा कम्पनीलाई लाभ हुने जनाएका छन् ।
बोनस दर नघटाए जीवन बीमा कम्पनीलाई नै समस्या
विगतमा बोनस दर कस्को धेरै छ ? भनेर बीमा कम्पनीबीच प्रतिस्पर्धा हुन्थ्यो । कम्पनीहरूले बोनस दरको अधिकतम् प्रचार प्रसार गर्न रूचाउँथे । तर पछिल्लो समय बीमा समिति नै बोनस दरमा गरिने प्रतिस्पर्धाको पक्षमा छैन । समितिले बीमाको मुख्य काम रक्षावरण नै भएकाले बीमा कम्पनीले बोनसको प्रतिस्पधामाभन्दा पनि रक्षावरण र बीमितको सन्तुष्टिमा ध्यान दिनुपर्ने बताएको छ ।
चालु आर्थिक वर्षमा भने ठूला जीवन बीमा कम्पनीले नै आफ्नो बोनस दर घट्ने स्वीकार गरेका छन् । बीमा कम्पनीहरूले बोनस घट्नुको मुख्य कारण बीमा समितिले निर्देशित गरेको फ्युचर बोनस प्रोभिजनिङ रहेको बताएका छन् । फ्युचर बोनस प्रोभिजनिङ गर्दा बीमा कम्पनीलाई तत्कालका लागि सूचकांकमा घटबढ भए पनि कम्पनीको स्थायी शक्ति भने बढ्ने छ ।
बोनस दर नघटाउँदा तत्कालका लागि बीमितको आकर्षण बढ्ने भए पनि बीमा कम्पनीको वास्तविक सामथ्र्य भने खस्कने समिति र कम्पनीहरू दुवै पक्षको स्वीकारोक्ति छ । तर बीमा कम्पनीहरू भने आफ्नो बोनस दर घटे पनि प्रतिस्पर्धी कम्पनीहरूको भन्दा एक रुपियाँ मात्रै भए पनि बढि राख्ने होडमा छन् । अहिले उनीहरूले पहिला अर्कोले बोनस दर सार्वजनिक गरिदियोस्, त्यसपछि आफू गरौंला भनेर दाउ हेरेर बसेको अवस्था छ ।