राष्ट्रिय बीमा कम्पनी छोड्दै गर्दा अर्यालले भने– १२० प्रतिशत लाभांश बाँड्छु भन्दा अंकुश लगाइयो

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. डिल्लीराज अर्यालले चालु आर्थिक वर्षभित्र नै राष्ट्रिय बीमा कम्पनी अन्य निजी कम्पनीभन्दा माथि जाने दावी गरेका छन् । कम्पनीबाट बाहिरिने क्रममा उनले आफूले कम्पनीमा धेरै काम गरेको र यसको नतिजा देखिन भने केही समय लाग्ने बताए ।

अर्यालले कर्पोरेट नेपालसँग भने, ‘अहिले हाम्रो आर्थिक वर्ष २०७५–७६ को भ्यालुयसन हुँदैछ । बीमा समितिले पनि पछिल्लो समय सहयोग नै गरेको छ । साधारण सभाको सन्दर्भमा, राष्ट्रिय बीमा कम्पनीको जिम्मा लिएकाहरूले नै हिसाब किताब बिराएको अवस्था थियो । मैले त्यसलाई सच्याउने सक्दो प्रयास गरें । मेरो पहलबाट पनि केही कामहरू भए । तर यो सोचेजस्तो नतिजामूखी नदेखिएको हुनसक्छ ।’ 

Advertisement

उनले चालु आर्थिक वर्ष २०७८–७९ भित्रमा नै राष्ट्रिय बीमा कम्पनीको समस्या समाधान हुने सम्भावना पनि औंल्याए । अर्यालले कम्पनीको लेखापरीक्षण सकेर साधारणसभा गर्न आफूले सक्दो प्रयास गरिसकेको बताउँदै भने, ‘म आउनुअघिसम्म कम्पनीका धेरै कामहरू पेण्डिङ् नै रहेको कुरा सबैमा जगजाहेर नै छ । काम गदागर्दै मैले सोचेअनुसार पनि छिटोछिटो नतिजा आएन । अब बीमा कम्पनीमा विगतदेखि अल्झिएको साधारण सभा गर्न सहज भएको छ । साधारणसभा भएपछि आगामी दिनमा अन्य कामका लागि पनि बाटो खुला गर्नेछ ।’

तथ्यांक शास्त्र अध्ययन गरेको र विद्यावारिधि गरिसकेकाले पनि अर्यालले राष्ट्रिय बीमा कम्पनीको अलपत्र हिसाकिताव अद्यावधिक गरेर साधारण सभा सम्पन्न गर्छन् भन्ने अर्थ मन्त्रालय र बीमा समितिको ठूलो अपेक्षा थियो । उनी आफै भन्छन्, ‘मलाई मन्त्रालयले यहाँ पठायो । जिम्मेवारीअनुसार कम्पनीमा आए । काम गरें । अहिले फेरि मलाई मन्त्रालयले फिर्ता बोलाइसकेको छ । म अब फर्किएर आउँला, नआउँला । अरू कोही न कोही त आउनैपर्छ । जो आए पनि मुख्य समस्या भनेको त्यही साधारण सभा हो । त्यति समस्या समाधान गर्न सके कम्पनीका लागि पनि अरू धेरै कुराको लागि बाटो खुल्छ ।’  

के हो बीमा कम्पनी र समितिबीचको विवाद ?
२०७५ सालमा राष्ट्रिय बीमा कम्पनीले आफ्ना सेयरधनीलाई १२० प्रतिशत लाभांश दिने भनेको थियो । तर बीमा समितिले कम्पनीको सो निर्णयमा अंकुश लगायो । सीईओ अर्याल भन्छन्, ‘बीमा कम्पनीले १२० प्रतिशत लाभांश दिने प्रस्ताव अघि सार्यो । त्यसलाई बीमा समितिले रोक्का गर्यो । यता बीमा कम्पनीको इच्छा चाहीं बीमा समितिले हुबहु स्वीकृति देओस् भन्ने थियो । त्यसलाई समितिले मानेन ।’

उनले राष्ट्रिय बीमा कम्पनीको लाभांशको प्रस्तावलाई बीमा समितिले वित्तीय विवरणलाई देखाएर यो मिल्या छैन, त्यो मिल्या छैन भन्दै अंकुश लगाएको खुलासा गरे । साथै, राष्ट्रिय बीमा कम्पनीमा सर्वसाधारण र संस्थागत लगानीकर्ता दुवै रहेकाले लाभांशको विषयमा मात्रै छलफल गर्न एक वर्ष समय खर्चनुपरेको अनुभव सुनाए । यस विषयमा धेरै जना अहिलेसम्म पनि बेखबर नै रहेको अर्यालको भनाई छ । 

उनले राष्ट्रिय बीमा कम्पनी अल्मलिएको भन्ने हल्ला धेरै हुने गरे पनि किन अल्मलिएको हो ? भन्ने कुरामा भने कसैको ध्यान नपुगेको बताए । तर यता बीमा समितिले भने सरकारी स्वामित्वमै रहेको राष्ट्रिय बीमा कम्पनीको सेयर बढाउन कम्पनीकै कर्मचारी ‘इन्साइडर ट्रेडिङ’मा संलग्न रहेको आरोप लगाउँदै आएको थियो । 

नेप्सेमा बीमा कम्पनी अवस्था
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा राष्ट्रिय बीमा कम्पनीको सेयरको भाउ सबैभन्दा उच्च छ । यस कम्पनीको सेयर भाउ प्रतिकित्ता १८ हजार ६५० रूपियाँ कायम छ । त्यस्तै, नेप्सेमा २६ लाख ६६ हजार ३६५ कित्ता सेयर सूचीकृत भएको यस कम्पनीको बजार पूँजीकरण भने ४९ अर्ब ७२ करोड ७७ लाख सात हजार २५० रहेको छ ।  

Advertisement

Advertisement