स्पेनिस ला लिगामा रियललाई पछ्याउँदै सेभिया

Advertisement

एजेन्सी/म्याड्रिड । सेभियाले स्पेनिस ला लिगामा शीर्षटोली रियल म्याड्रिडलाई पछ्याउँदै गएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभियाले गेटाफेलाई १–० गोलले हरायो । सेभियाको कठिन जितमा राफा मिर नायक बने ।

प्रतिस्पर्धात्मक खेलमा राफा मिरले २२औं मिनेटमा लुकास ओकम्पोसको पासमा गरेको गोल सेभियाको जितमा निर्णायक बन्यो । ६६ प्रतिशत बल पोसेसन राखेको सेभिया पहिलो हाफमा गोल गरेपछि रक्षात्मक देखिएको थियो । घरेलु टोलीलाई दबाब दिएपनि गेटाफेको गोल फर्काउने प्रयास सफल भएन ।

Advertisement

निर्णायक गोल गरेका सेभियाका राफा मिर ‘म्यान अफ दी म्याच’ भए । जितसँगै सेभियाले २० खेलबाट ४४ अंक बनाएको छ । सेभियाले शीर्षटोली रियल म्याड्रिडसँगको दुरी पाँच अंकले घटाएको छ । रियलको २१ खेलबाट ४९ अंक छ । तेस्रो स्थानमा रहेको रियल बेटिसको ३४ अंक छ । पराजित गेटाफे १८ अंकसहित १६औं स्थानमा छ ।

आइतबार रातिनै भएको अर्को खेलमा रियल बेटिस रायो भालेकानोसँग १–१ गोलको बारबरीमा रोकिएको छ । ३३औं मिनेटमै एलेक्स मोरेनो रातो कार्ड पाउँदै बाहिरिएपछि बेटिस १० खेलाडीमा समेटिएको थियो ।

तरपनि पहिलो हाफको इन्जुरी समयमा सर्जिओ कानालेसले गोल गर्दै बेटिसलाई अग्रता दिलाए । ७०औं मिनेटमा रायो भालेकानोका इभान बालिउले गोल गर्दै खेललाई बरबरीमा ल्याएका थिए । बराबरीसँगै ३१ अंक बनाएको रायो भालेकानो सातौं स्थानमा छ ।

अर्को खेलमा एट्लेटिको म्याड्रिड भिल्लारियलसँग २–२ गोलको बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको एट्लेटिकोले सुरुवाती अग्रता लिएरपनि अंक बाँड्न बाध्य बन्यो ।

एट्लेटिकोका लागि एन्जल कोर्रियाले १०औं र नियोफ्री कोन्डोगवियाले ६७औं मिनेटमा गोल गरे । भिल्लारियलका पाउ टोरेसले २९औं र अल्बर्टो मोरेनोले ५८औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा नियोफ्री कोन्डोगविया दोहोरो पहेँलो कार्ड पाउँदै बाहिरिएपछि एट्लेटिकोले १० खेलाडीमा खेल सकेको थियो । बराबरीसँगै चौथो स्थानमा रहेको एट्लेटिकोको ३३ अंक छ । २९ अंक बनाएको भिल्लारियल आठौं स्थानमा छ ।

अर्को खेलमा ओसासुनाले काडिजलाई २–० गोलले हरायो । अलाभेस र एथलेटिक बिल्बाओले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

 

Advertisement

Advertisement