बाढी पहिरोले ४५६ मेगावाटको माथिल्लो तामाकोशीमा गम्भीर क्षति, सैनिक जवानहरु सम्पर्कविहीन

Advertisement

काठमाडौं । अविरल भारी वर्षासँगै आएको बाढी र पहिरोले दोलखाको लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा गम्भीर क्षति पुगेको छ । 

बाढी पहिरोले आयोजनाको बाँध क्षेत्रको संरचना (हेडवक्स)मा गम्भीर क्षति पुगेको आयोजनाका पूर्वप्रमुख विज्ञान श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 
 
पानीको बहाव उच्च भएसँगै शुक्रबार साँझदेखि आयोजनाबाट विद्युत् उत्पादन बन्द गरिएकोमा आज बाढीले ठूलो क्षति पुर्याएको हो । अहिले बाँधका सम्पूर्ण ढोकाहरु खुल्ला गरिएको छ । 

Advertisement

ठूलो बाढी आएको समयमा ‘ड्याम्प अपरेसन कोड’अनुसार बाँधको सबै ढोका खुल्ला गरी आयोजनाको उत्पादन बन्द गरेर समग्र आयोजनालाई क्षति न्यूनीकरण गरिएता पनि आज दिउसो आएको पहिरोले ‘हेडबक्स कन्ट्रोल विल्डिङ’ र ‘डिसेन्डर बेसिन’स्थललाई ठूलो क्षति पुर्याएको श्रेष्ठले बताएका छन् । 

उनले लेखेका छन्, ‘‘हेडबक्स कन्ट्रोल विल्डिङ’ र ‘डिसेन्डर बेसिन’स्थललाई ठूलो क्षति पुर्याउनुका साथै त्यहाँ कार्यरत नेपाली सेनाका जवान र आयोजनाका कर्मचारीहरु सम्पर्कमा आउन नसकेको खबरले चिन्तित छु । भर्खरै प्रमुख कार्यकारी अधिकृत मोहन गौतमजी र केन्द्र प्रमुख पुर्णगोपाल रंजितजीसॅंग फोन संपर्कवाट घटनाको विवरण लिनुको साथै ‘डिजास्टर म्यानेजमेन्ट’को लागि आबश्यक सल्लाह र सुझाबहरू दिएं ! आयोजना स्थलमा रहेका समस्त कर्मचारी र सरोकारवाला सबैबाट सुरक्षित रहेर उच्च मनोबलका साथ उद्दार कार्य गर्न सफलता मिलोस !’

बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने नहरमा बाढी र पहिरोले क्षति पुर्याएको छ । माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको जनाइएको छ । 

Advertisement

Advertisement