बीमा कम्पनीहरूमा पनि नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीहरू ! समितिले माग्यो प्रमाणपत्र

Advertisement

काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरूलाई निर्देशन दिँदै आफ्ना कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाणपत्र चेकजाँच गर्न भनेको छ । 

बीमा कम्पनीहरूमा नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीहरु भेटिन थालेपछि समितिले सबै कर्मचारीको त्यस्तो प्रमाणपत्र आफूलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ । 

Advertisement

जीवन बीमक संघका उपाध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले समितिले सबै कम्पनीहरूलाई आफ्ना कर्मचारीको शैक्षिक योग्यता खुलाउन निर्देशन दिएको जानकारी दिए । 

उनले भने, ‘कुन कम्पनीमा काम गरेका कर्मचारीको शैक्षिक योग्यता के कस्तो छ ? भनेर बीमा समितिले हामीलाई पत्र पठाएको छ । केही दिनभित्रै हामी सबै कर्मचारीको विवरण पठाउने छौं । यसले गर्दा कुन कर्मचारीको योग्यता कस्तो ? भन्ने बीमा कम्पनी र समिति दुवैलाई जानकारी हुन्छ ।’ 

यता बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले बीमा कम्पनीहरुमा काम गर्ने कतिपय कर्मचारीको शैक्षिक प्रमाण पत्र नक्कली रहेको भनेर उजूरीहरु प्राप्त भएकोले वास्तविकता के हो ? भनेर जान्नका लागि निर्देशन दिएको बताए । 

उनले नक्कली प्रमाण पत्र लिएर बीमा क्षेत्रमा कसैले काम गरे त्यो गैरकानुनी हुने र त्यस्ता गतिविधि गर्नेलाई कारबाही गर्ने बताए । हालसम्म बीमा क्षेत्रमा अनुभवका आधारमा काम गर्ने हो कि शैक्षिक योग्यताका आधारमा काम गर्ने भन्ने एक किसिमको अन्यौलता रहँदै आएको छ । 

नियामक बीमा समितिले भने बीमा क्षेत्रमा जोकोहीले नक्कली प्रमाण पत्रको आधारमा जागिर खाईरहेको भए पनि आफूहरूले खोजी गर्ने र कारबाहीको दायरामा ल्याउने जनाएको छ । कतिपय बीमा कम्पनीका सीईओकै शैक्षिक प्रमाणपत्रसमेत नक्कली रहेको चर्चा हुने गरेको छ । तर अहिलेसम्म पुष्टि भने भइसकेको छैन् । 

Advertisement

Advertisement