स्पेनिस ला लिगाः रियल रोकिँदा एट्लेटिको विजयी

Advertisement

एजेन्सी/म्याड्रिड । स्पेनिस ला लिगामा शीर्षटोली रियल म्याड्रिड भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिँदा साविक विजेता एट्लेटिको म्याड्रिडले गेटाफेमाथि रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियललाई गोलरहित बराबरीमा रोक्दै भिल्लारियलले एक एक अंक बाँडेको हो । अर्को खेलमा १० खेलाडीमा समेटिएको एट्लेटिको म्याड्रिडले गेटाफेलाई उसैको मैदानमा ४–३ गोलले स्तब्ध बनायो ।

Advertisement

प्रतिस्पर्धात्मक खेलमा ५७ प्रतिशत बल पोसेसन राखेपनि रियलले गोल गर्न सकेन । बलियो रियलविरुद्ध रक्षात्मक खेल खेलेको भिल्लारियलको रणनिति सफल बन्यो । भिल्लारियलका जेरोनिमो रुल्ली ‘म्यान अफ दि म्याच’ भए । बराबरीसँगै शीर्षस्थानमा रहेको रियलको २४ खेलबाट ५४ अंक छ । ३६ अंक बनाएको भिल्लारियल छैटौं स्थानमा छ । दोस्रो स्थानमा रहेको सेभियाको ५० अंक छ ।

यसैगरी एट्लेटिकोको रोमाञ्चक जितमा एन्जल कोरेआले दुई तथा म्याथिअस कुन्हा र मारियो हर्माेसोले एक एक गोल गरे । गेटाफेका इनेस युनालले दुई तथा बोर्जा मायोरलले एक गोल गरेका थिए ।

लुइस स्वारेज नवौं मिनेटमा पेनाल्टीमा चुक्दा एट्लेटिको निरास बनेको थियो । तर १९औं मिनेटमा एन्जल कोरेआले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाए । २७औं मिनेटमा म्याथिअस कुन्हाले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनाए ।

३०औं मिनेटमा बोर्जा मायोरलले गोल गर्दै गेटाफेलाई खेलमा फर्काउने प्रयास गरे । ३७औं मिनेटमा इनेस युनालले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ४२औं मिनेटमा इनेस युनालले पुनः पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै गेटाफेलाई अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा एन्जल कोरेआले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा खेललाई ३–३ गोलको बराबरीमा ल्याए । ५८औं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटियो । विपक्षी मोउरो एरामवारीलाई फल गरेपछि फिलिपे रातो कार्ड पाउँदै बाहिरिएका थिए । तरपनि ८९औं मिनेटमा मारियो हर्माेसोले गोल गर्दै एट्लेटिकोलाई रोचक जित दिलाए । एट्लेटिकोका मार्कोस लोरेन्टे ‘म्यान अफ दि म्याच’ भए ।

जितसँगै एट्लेटिको चौथो स्थानमा उक्लिएको छ । एट्लेटिकोले २३ खेलबाट ३९ अंक बनाएको छ । पराजित गेटाफे २५ अंक सहित १५औं स्थानमा छ । अर्को खेलमा ओसासुनाले रायो भालेकानोलाई ३–० गोलले पराजित गरेको छ । सेल्टा भिगो र काडिजले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

Advertisement

Advertisement