फ्युचर बोनस प्रोभिजनिङले बीमा कम्पनीहरुको साधारणसभा पर धकेलिँदै, चाँडै गरः समिति

Advertisement

काठमाडौं । फ्युचर बोनस प्रोभिजनिङका कारण केही बीमा कम्पनीहरू साधारणसभा गर्न अलमलमा परेका छन् । कम्पनीहरू साधारणसभा सक्न तयारी गरिरहेको बेला फ्युचर बोनस प्रोभिजनिङले उनीहरुलाई अलमलमा पारेको हो । 

अहिले सात जीवन बीमा र छ निर्जीवन बीमा कम्पनी गरी १३ वटा कम्पनीहरु साधारणसभा गर्न अलमलमा छन् । सञ्चालनमा रहेका दुईवटा पुनर्बीमामध्ये सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीले पनि आर्थिक वर्ष २०७७–७८ को वित्तीय विवरण स्वीकृत गर्न बाँकी नै छ ।

Advertisement

बीमा कम्पनीहरुले पुस मसान्तसम्म साधारण सभा गर्नुपर्ने भए पनि यस पटक भने साधारणसभा गर्न अटेर गर्दै आएको बीमा समितिको भनाई छ । उनीहरुले उल्टै गुनासो गर्दै साधारणसभा थप गर्न माग गरेकाले वैशाखसम्म समय दिएको समितिको भनाई छ । 

तर फागुनको तेस्रो सातासम्म समितिमा कतिपय कम्पनीको वित्तीय विवरण समेत पुगेको छैन् । खासगरी जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७६–७७ को विवरण बुझाउन ढिलाई गरेका छन् भने निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७–७८ को विवरण बुझाउन आलटाल गरेका छन् । कम्पनीहरुले वित्तीय विवरण समितिमा समयमा पठाउन ढिलाई हुनुमा एक्चुरी भ्यालुयसन गर्दा लाग्ने समयलाई नै मुख्य कारण रहेको देखाउँदै आएका छन् ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमारलाल कर्ण भन्छन्, ‘बीमा कम्पनीहरुले साधारणसभा चाँडै गर्न चाहँदा चाहँदै पनि यसको प्रक्रिया नै लामो हुने गरेकाले समय लाग्ने गर्छ । बीमा कम्पनीले एक पटक वित्तीय विवरणको लेखापरीक्षण गरेपछि फेरि बीमा समितिले पनि त्यसको लेखापरीक्षण गराउनै पर्छ ।’ 

पछिल्लो समय फ्युचर बोनस प्रोभिजनिङले पनि वित्तीय विवरण तयार गर्न ढिलाई भईरहेको उनले स्वीकार गरे । समितिले वित्तीय विवरण स्वीकृत नगरेसम्म कम्पनीले साधारणसभा गर्न सक्दैनन्। बीमा कम्पनीहरुले बीमितलाई दिने बोनस दरमा एकरुपता कायम गर्न समितिले फ्युचर बोनस प्रोभिजनिङको व्यवस्था ल्याएको हो । 

यो व्यवस्थामा बीमा कम्पनीले भविष्यमासमेत बीमितलाई दिने बोनसको मूल्यांकन गरेर आफ्नो नाफाको केही अंश जोगाड गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । त्यसरी रकम छुट्याएर वित्तीय विवरण तयार पार्दा विगतमा छिटो साधारणसभा सक्ने कम्पनीहरूलाई समेत अहिले समय लागेको हो । 

तर, बीमा समितिले भने साधारणसभाले कम्पनीहरुको आर्थिक सुशासन र पारदर्शीताको मापन गर्ने भएकाले समयमा नै साधारणसभा गर्न दबाब दिएको छ । उसले साधारणसभा गर्न ढिलाई भएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । 

यता कम्पनीहरुले वित्तीय विवरण तयार गर्न ढिलाई हुनुमा एक्चुरी पनि एउटा कारण भएको बताएका छन् । उनीहरुले एक्चुरी नभेटिँदा आफूहरुलाई वित्तीय प्रतिवेदन तयार गर्न ढिलाई हुने गरेको बताउँदै आएका छन् । 

Advertisement

Advertisement