स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढ्न गठबन्धनमा आवद्ध नेता, कार्यकर्तालाई आह्वान
File-Photo

Advertisement

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले ठाउँ र अवस्था अनुसार स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढ्न गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्तालाई आह्वान गरेको छ । 

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको सत्तारुढ पाँच दलीय गठबन्धन बैठकले एक अपिल जारी गर्दै देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परम्पर सहयोगको भावनाले अघि बढन पाँच दलका सबै नेता, कार्यकर्तालाई आह्वान गरेको हो । 

Advertisement

आजको बैठकमा चुनावी तालमेलका लागि संयन्त्र बनाउने विषयमा पनि छलफल भएको र त्यसको टुंगो भोली (मंगलबार) अपरान्ह ४ बजे बस्ने बैठकले टुंगो लगाउने पनि काँग्रेस नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

पाँच दलीय गठबन्धनले आफ्ना उम्मेदवारहरुलाई अमूल्य मत दिई विजयी गराउन पनि आम जनसमुदायलाई आग्रह गरेको छ । देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीयबासीहरुको कठिनाई हटाउँदै तिनका आवश्यक्ता परिपूर्ति गर्नका लागि आगामी स्थानीय तह निर्वाचनमा पनि तालमेल गरेर अघि बढने घोषणा गरिएको पनि स्पष्ट पारिएको छ । 

सत्तारुढ गठबन्धनले संविधानको उलंघन गर्दै संसदमाथि निरन्तर प्रहार, अदालत उपर खेलबाड र संवैधानिक अंगहरुमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको भन्दै त्यस्ता प्रतिगामी र परिवर्तन विरोधी शक्तिबाट देशलाई जोगाउनुपर्ने पनि अपिलमा भनिएको छ । स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ ।  

Advertisement

Advertisement