काठमाडौं । बीमा समितिले एक्कासी डेढसय प्रतिशतले पुँजी बढाउनुपर्ने निर्णय गरेसँगै अधिकांश बीमा कम्पनीहरुलाई बाध्यतात्मकरुपमा मर्जरमा जानुपर्ने अवस्था सिर्जना भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसहित दुई–चार वटा कम्पनी यस नीतिबाट अछुतो रहने देखिए पनि अधिकांश ‘फोर्स मर्जर’मा जानुपर्ने अवस्थामा छन् । कम्पनीका सीईओहरुले पनि समितिको निर्णय कार्यान्वयन भएको अवस्थामा फोर्स मर्जरबाहेक अर्को विकल्प नरहेको स्वीकार गर्छन् ।
मर्जर बाध्यकारी देखिएको अवस्थामा बीमा कम्पनीहरुमा व्यवसायिक घरानाहरुको दोहोरो लगानी ‘क्रस होल्डिङ’ कुन कुन कम्पनीमा छ ? भनेर खोजी हुन थालेको छ । मर्जरमा जाँदा यस्तो क्रस होल्डिङले ठूलो अर्थ राख्ने भएकाले पनि यसमा चासो गएको हो ।
नाम चलेका अधिकांश व्यवसायिक घरानाको बीमा क्षेत्रमा दोहोरो लगानी देखिन्छ । एकलरुपमा ठूलो पुँजी वृद्धि गर्न कम्पनीहरुलाई कठिनाई हुने भएकाले पनि मर्जर नै उपयुक्त उपायको रुपमा कम्पनीका सञ्चालक तथा प्रवद्र्धकहरुले हेरेका छन् ।
तर यसरी मर्जर हुँदै गर्दा व्यवसायिक समूहहरुदेखि सञ्चालकहरुको स्वार्थ र समझदारीले ठूलो अर्थ राख्छ । वित्तीय क्षेत्रमा तरलता संकुचनको स्थितिले गर्दा पनि प्रवद्र्धकहरुलाई लगानी जुटाउन यतिबेला कठिनाई हुने भएकाले मर्जर नै रोज्नसक्ने संभावना बढी छ । साथै, बीमा कम्पनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको सन्दर्भमा आफैंले पुँजी थप्नुभन्दा मर्जरमा गएर व्यवसाय पनि बढाउन सहज हुने विश्लेषकहरुको भनाई छ ।
यस्तो छ क्रस होल्डिङको अवस्थाः
नेपाल लाइफ इन्स्योरेन्स,कम्पनीमा विशाल समूहको २० प्रतिशतभन्दा धेरै लगानी छ । सोही समूहले एलआईसी नेपाल, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा पनि ठूलै लगानी गरेको छ । तर नेपाल लाइफको अहिले नै तोकिएको पुँजी पुगिसकेको अवस्थामा उनीहरु के कसरी अघि बढ्छन् ? हेर्न बाँकी छ । सूर्य र ज्योतिमा संघई समूहको पनि दोहोरो लगानी देखिन्छ ।
निर्जीवन बीमा व्यवसायतर्फ पनि विशाल ग्रुपको लगानी प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीमा देखिन्छ छन् । यी कम्पनीहरु पनि मर्जरमा जानसक्ने बलियो संभावना छ ।
कुमारी बैंकको दोहोरो लगानी जनरल इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्समा रहेकाले यी दुई पनि मर्जरका संभावित कम्पनी हुन् ।
आईएमई समूह, सोही समूहअन्तर्गतको आईएमई इन्भेष्टमेन्ट तथा आईएमई होल्डिङको लगानी आईएमई जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनीमा रहेको छ । त्यस्तै, सनराइज बैंकको दोहोरो लगानी लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्समा रहेको छ ।
यता भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङको लगानी अजोड इन्स्योरेन्समा रहेको छ । उक्त कम्पनीमा गुरुङको तोकिएको सिमाभन्दा बढी लगानी छ । एउटै व्यक्ति वा कम्पनीले १५ प्रतिशतसम्म लगानी गर्न नमिल्ने भए पनि उनको सोभन्दा बढी लगानी अजोडमा रहेको बताइन्छ । साथै, गुरुङको जनरल इन्स्योरेन्स कम्पनीमा पनि लगानी रहेको छ । यस हिसाबले हेर्दा अजोड र जनरल इन्स्योरेन्स कम्पनी पनि मर्जरका लागि संभावित कम्पनी हुन् । यता हाथवे फाइनान्सको दोहोरो लगानी आईएमई जनरल र अजोड छ ।
यता ग्लोबल आईएमई बैंकको दोहोरो लगानी रिलायबल नेपाल लाइफ र आईएमई लाइफ रहेको छ । व्यवसायी शशीकान्त अग्रवालको दोहोरो लगानी युनाईटेड इन्स्योरेन्स र शिखर इन्स्योरेन्स देखिन्छ । गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्समा दुगड समूह र गोल्छा समूहको दोहोरो लगानी छ ।
त्यस्तै,, नेको इन्स्योरेन्समा महतो समूहसहित गैरआवासीय नेपालीको लगानी रहेको छ भने प्राइम लाइफमा खेतान समूह, युनाइटेड इन्स्योरेन्समा चौधरी समूह, एभेरेष्ट इन्स्योरेन्समा खेतान र टिबडेवाल समूहको लगानी देखिन्छ । व्यवसायिक समूहले यस्तो लगानी प्रत्यक्ष अप्रत्यक्षरुपमा धेरै कम्पनीमा दोहोरो देखिए पनि मर्जरमा जाने कुरामा पनि धेरै कुराले कठिनाई सिर्जना गर्छ ।
फोर्स मर्जरमा लैजाने समितिको तयारीले कतिपय बीमा कम्पनीका सञ्चालक खुशी देखिन्छन् भने कतिपय दबाब छन् । विशेषगरी संयुक्त लगानीका कम्पनीहरुलाई यस निर्णयले धेरै असहज बनाएको छ । उनीहरु बैंकमा जस्तो बीमा समितिमा मर्जर सहज नरहेको बताउँछन् ।
समितिले जीवन बीमा कम्पनीलाई पाँच अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे दुई अर्ब रुपियाँ पुँजी तोकेको छ । अहिले जीवन बीमाको लागि दुई अर्ब र निर्जीवनका लागि एक अर्बको पुँजीको सीमा छ ।