काठमाडौं । धम्कीका कारण बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले नै असुरक्षा महशुस गर्न थालेका छन् । बीमितले पाउने दावी भुक्तानीका बारेमा गलच प्रचार हुँदा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्रीलाई धम्की आएको हो ।
उनले कर्पोरेट नेपालसँग भने, ‘अब त ‘घरमै आउँ’ भनेर धम्कीपूर्ण फोनको पनि सामना गर्नुपरेको छ । तपाईं बस्ने टोल हामीलाई थाहा छ, हाम्रो खातामा पैसा कहिले आउँछ ? भनेर फोन पनि आउन थाल्यो ।’
बीमितकै सुरक्षाका लागि बीमा कम्पनी चलाउने हामी नै असुरक्षित भए जस्तो लाग्छ भन्दै क्षेत्रीले थपे, ‘मैले बीमा क्षेत्रमा नै काम गरेको लामो समय भयो । यही क्षेत्रमा बीमितको लागि थप नयाँ काम गरेर अझै सहज बनाउँ प्रयास गर्दैछौं । यस्यो धम्की आउन थालेपछि काम कसरी गर्ने ?’
उनी बीमक संघको अध्यक्ष पनि हुन् । उनले प्रक्रिया र सम्झौताको आधारमा मात्रै बीमा कम्पनीले पैसा दिने हो भन्दै सो अभ्यास अन्तर्राष्ट्रिय रुपमा पनि रहेको बताए । तर, नेपालमा कुनै कुनै दाबी भुक्तानीको विषयलाई लिएर निकै असहज परिस्थिति सिर्जना भएको क्षेत्रीको भनाई छ ।
यता दावी भुक्तानी पाउन नसकेका बीमित भने बीमाले दुःखमा पैसा दिन्छ भन्दै बीमा गरे पनि क्षति हुँदा पाइने पैसा सर्भेयरले रोक्ने प्रयास गरेको आरोप लगाउँछन् । बीमा एक पटकको लागि र एउटाको लागी मात्रै नभई सबैको लागि र सधैको लागि सहयोगी हुनुपर्ने उनीहरुको भनाई रहँदै आएको छ ।
बीमा समिति भने आफूहरुले कम्पनी या बीमितको पक्ष लिनेभन्दा पनि सत्यको पक्षमा नियामकले काम गर्नुपर्ने बताएको छ । उसले बीमा क्षेबका सबै पक्षको जायज मागको सम्बोधन गर्न तयार रहेको बताएको छ ।
तर दाबी भुक्तानी रोक्ने किसिमले कुनै पनि बीमकले काम गरेमा आफूहरुले कारबाहीको दायरामा ल्याउने समितिका अध्यक्ष सूर्य सिलवाल बताउँछन् । पछिल्लो समय बीमक संघ नै दाबी भुक्तानी गर्न आलटाल गर्ने सक्रिय रहेको उनको संकेत थियो । तर, संघले भने सो आरोप अस्वीकार गरेको छ ।
बीमक संघका अध्यक्ष क्षेत्रीले बीमाको प्रक्रिया पूरा गरेर कागजाज तयार गर्न समय लागे पनि बीमा कम्पनीले पैसा नदिने किसिमको गलत नियत भने कदापी नराख्ने बताउँछन् । उनले कानुन र प्रक्रियालाई सबैले मान्नुपर्ने भन्दै त्यसबाट बाहिर गएर कार्यालय समयभन्दा बाहिर फोन गर्ने, धम्की दिने कुरा गलत भएको बताए । प्रमाण नपुगेका काजगमा सहजै दाबी दिँदा त्यसले बीमितलाई अप्ठ्यारो पर्ने बताए ।