काठमाडौं । रात्रिकालिन उडान सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणले एक्कासी निर्देशन जारी गरेसँगै विरोधमा हवाई सेवा बन्द गर्ने निर्णयमा पुगेर वाकयुद्धमा पुगेका आन्तरिक उडानका वायुसेवा सञ्चालक र सरकारी पक्षबीचको विवाद समाधान भएको छ ।
शुक्रबार भएको वार्तामा वैशाख २१ गतेभित्र प्रतिवेदन पेश गर्नेगरी कार्यदल गठन गर्ने निर्णय भएको छ । कार्यदलले दिएको प्रतिवेदनका आधारमा वैशाख २३ गतेदेखि नयाँ स्लटमा उडानहरु सञ्चालन गर्न निजी हवाई सेवा सञ्चालकहरु त्यार भएका छन् । प्राधिकरणले दिउसो मात्रै उडान गर्दा समयमा उडान पनि नहुने, यात्रुले पनि धेरै सास्ती भोग्नुपर्ने, हवाई ट्राफिकको समस्या पनि हुने भन्दै आजबाटै रात्रिकालिन उडान सेवा भएका विमानस्थलहरुमा रात्रिकालिन उठान गर्न निर्देशन दिएको थियो ।
तर हवाई सेवा सञ्चालकहरुले यस्तो उडान प्राविधिक हिसावले तत्कालै कठिन रहेको भन्दै कार्यान्वयन गर्न नसक्ने भनेर आजैबाट हवाई सेवा बन्द गर्ने चेतावनी दिएका थिए । त्यसपछि प्राधिकरणका महानिर्देशकदेखि पर्यटनमन्त्री प्रेम आलेसम्मले उनीहरुको कडा आलोचना गरेका थिए ।
आज बसेको बैठकले सरोकारवाला पक्षलाई राखेर कार्यदल गठन गर्ने सहमतिपछि हवाई सेवा सञ्चालकहरुले घोषणा गरेको विरोधका कार्यक्रम फिर्ता लिइएको छ ।