बीमा कम्पनीहरुलाई मर्जरमा जान बाटो खोल्दिएका मात्रै हौं, बाध्य बनाउँदैनौः अध्यक्ष सिलवाल

Advertisement

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान दबाब नदिने स्पष्ट पारेको छ । पुँजी वृद्धिको निर्णयसँगै बीमा कम्पनीहरुलाई मर्जरमा जान बाध्य पार्ने (फोर्स मर्जर) चर्चा चलिरहेको बेला समितिका अध्यक्ष सूर्य सिलवालले त्यस्तो बाध्य नपार्ने स्पष्ट पारेका छन् । 

उनले बीमा कम्पनीहरुलाई मर्जरमा जान थप एक आर्थिक वर्ष समय थप्दिने पनि बताएका छन् । कर्पोरेट नेपालसँग सिलवालले भने, ‘हामीले बीमा कम्पनीहरुलाई मर्जरको तयारी गर्नु भनेका हौं । तर बीमामा मर्जर बाध्यकारी बनाइहाल्न मिल्ने अवस्था भने छैन् । मर्जरमा जान खोज्ने कम्पनीहरुलाई हामीले आवश्यक सहयोग गरिदिनुपर्छ । हामी समितिको तर्फबाट सहजीकरण गर्न तयार छौं ।’

Advertisement

नयाँ बीमा कम्पनीले लाइसेन्स नपाउने
बीमा कम्पनीहरुलाई मर्जरमा गए पनि नयाँ कम्पनीलाई लाइसेन्स भने तत्काल वितरण नगर्ने अध्यक्ष सिलवालको भनाई छ । उनले मानिसहरु नयाँ बीमा कम्पनीको लाइसेन्सको प्रतिक्षामा रहे पनि अहिले नै कम्पनीको संख्या धेरै भएकाले नयाँ कम्पनी ल्याउन नमिल्ने बताए । 

सिलवालले भने, ‘अहिले भारतमा पनि त थोरै बीमा कम्पनी छन् । ती कम्पनीहरुबाट बीमितको काम भइरहेको छ । व्यवसाय पनि राम्रो गरिरहेका छन् । अब नेपालमा पनि धेरै कम्पनी आवश्यक छैन् । अहिलेका कम्पनीहरुलाई हामीले मर्जरमा जान बाटो खोलेका छौं ।  बीमा कम्पनीको संख्या धेरै भएर मात्रै काम धेरै हुने होइन नि ।’

उनले भारतमा जम्मा २४ वटा कम्पनीले नै जीवन बीमाको कारोबार गर्दै आएको र भारतीय बजार धानेको उदाहरण पनि दिए । नेपालमा पनि बीमा कम्पनीहरुको संख्यात्मक वृद्धिभन्दा स्तरीय सेवालाई जोड दिनुपर्ने अवस्था रहेको बताए । अहिले कम्पनीहरुको सेवा स्वस्थ हुन नसकेको सिलवालको संकेत थियो । 

उनले थपे, ‘अहिले बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्न असहज मान्ने गरेको अवस्था छ । त्यसको पछाडीको कारण भनेको उनीहरुसँग भएको थोरै पूँजी हो । विगतमा बीमा कम्पनीहरुको अवस्था र बीमा बजारको अध्ययन गरेर पूँजी ल्याइएको थियो । अब त्यो पूँजीले अहिलेको बजारलाई धान्दैन ।’

उनले बजार सुहाउँदोरुपमा बीमा कम्पनीहरु अघि बढ्न पनि चुक्ता पूँजी वृद्धि गर्नु आवश्यक छ भन्दै चुक्ता पुँजी वृद्धिको आफ्नो निर्णयलाई पुष्टि गर्ने प्रयास गरे । समितिले तोकेअनुसारको पूँजी वृद्धि गर्दा बीमा कम्पनीहरुको आकारको व्यवसाय बढाउन, जोखिम लिन र परेको बेलामा दाबी तिर्न छुट्टै उर्जा प्राप्त हुने सिलवालको तर्क छ । 

यता केही जीवन बीमा कम्पनीका सीईओहरु भने भारतको तुलनामा नेपालको बीमा कम्पनीहरुको चुक्ता पूँजी बढि भएको बताउँदै यस्तो वृद्धिले बीमा कम्पनीबाट लाभ पनि नहुने र पुँजीगत लाभ पनि नहुने भएकाले लगानीकर्ताको विकर्षण बढ्दै जाने बताएका छन् । 

Advertisement

Advertisement