कञ्चनजंगा हिमाल दोस्रो पटक आरोहण
कञ्चनजंगा हिमाल दोस्रो पटक आरोहण
काठमाडौं। कीर्तिमानी आरोही सानु शेर्पा अर्को कीर्तिमान राख्न सफल भएका छन् । उनले विश्वको तेस्रो अग्लो तथा ८,५८६ मिटर अग्लो कञ्चनजंगासहित विश्वका १४ मध्ये १२ वटा अग्ला हिमाल दुई पटक चढेर कीर्तिमान बनाउन सफल भएका हुन् ।
संखुवासभाको मकालु गाउँपालिका–१ स्थायी घर भएका ४६ वर्षीय सानु शेर्पाले १४ वटै अग्ला हिमालहरु दुई पटक आरोहण गर्ने लक्ष्य लिएका छन् । सोही क्रममा यही गएको मे ५ मा कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेर कीर्तिमान कायम गरेको पायोनियर एडभेन्चर ट्रेक्सका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।
उनले सोभन्दा अघि धौलागिरी हिमालको दोस्रो पटक सफल आरोहण गरेका थिए । शेर्पाले अब मकालु र पाकिस्तानको गसेरब्रुम–२ को आरोहण सम्पन्न गरेपछि विश्वमै दोहोर्याएर १४ वटा अग्ला हिमालचढ्ने पहिलो व्यक्तिको रुपमा नाम लेखाउन सक्षम हुनेछन् ।
केही वर्षअघि स्पेनका आरोही होनेटोले दोहोरो पटक अग्ला १४ हिमालको आरोहण प्रयास गरेका थिए । तर सफल हुन सकेका थिएनन्। सानु शेर्पाले सन् २००६ मा पहिलो पटक चो ओयु हिमालबाट आठ हजार मिटर अग्ला हिमालको आरोहण शुरु गरेका थिए । उनले सन् २०१९ मा धौलागिरी हिमाल आरोहणसँगै १४ वटा हिमाल आरोहण सम्पन्न गर्ने आरोही बन्न सफल भएका थिए ।
शेर्पाले सन् २००६ मा चो ओयु, २००७ मा सगरमाथा, २००८ मा ल्होत्से, २०१० मा मनास्लु, २००६ सिसापाङमा, २०१२ मा केटु, २०१३ मा गसेरब्रुम–१, २०१४ मा कञ्चनजंगा र २०१४ ब्रोडपिक, २०१६ मा अन्नपूर्ण, २०१७ मा नाङगापर्वत, २०१९ मा गसेरब्रुम–२, मकालु र धौलागिरीको आरोहण गरेका थिए ।
सन् २०१९ मै अग्ला सात वटा हिमालको दोस्रो पटक आरोहण सम्पन्न गरेका उनले सन् २०२१ मा अन्नपूर्ण, ल्होत्से र केटु हिमालको आरोहण गरेका थिए । उनी चौध वटा हिमाल आरोहण गर्ने तेस्रो नेपाली हुन् । शेर्पाले दोस्रो पटक आरोहण गरेका हिमालहरु चो ओयु, सिसापाङमा, सगरमाथा, ल्होत्से, मनास्लु, अन्नपूर्ण, धौलागिरी, केटु, नाङगापर्वत, ब्रोडपिक र गसेरब्रुम–१ आरोहण गरेका हुन् ।