काठमाडौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ‘मेरो मुटु’ नामक बाल बीमा योजना सञ्चालन गरिरहेको छ । अरु जीवन बीमा कम्पनीले सञ्चालन गरिरहेको बाल बीमाभन्दा यो विशेष रहेको कम्पनीको दाबी छ ।
रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राकेश पोखरेलले कर्पोरेट नेपालसँग भने, ‘बाल बीमा बालबालिको भविष्यका लागि गर्नैपर्ने बीमा हो । हामीले ‘मेरो मुटु’ नामक बीमा योजना संचालन गरिरहेका छौं । यस योजना अरु कम्पनीहरुको तुलनामा केही फरक मोडलमा हामीले सञ्चालन गरिरहेका छौं ।’
रिलायन्स लाइफमा बाल बीमा गरेपछि भवितव्य परेर बालबालिकाका अभिभावकको ज्यान जोखिममा पर्दा पनि बीमाले सघाउने उनको भनाई छ । पोखरेलले पछिल्लो समय विशेष परिस्थितिमा आफूहरुले बाल बीमा पोलिसिमा बीमाशुल्क तिर्ने व्यवस्थासमेत गरेको बताए ।
जीवन सधैं एकनाश नहुने र भवितव्य परेको बेलामा बीमाले साथ दिने भएकाले मानिसले बीमा गर्ने बताउँदै उनले रिलायन्स लाइफमा बाल बीमा गरेपछि अभिभावकको मृत्यु हुँदा मात्र नभई अभिभावकहरु आजीवन अशक्त भएको अवस्थामा समेत बाल बीमा पोलिसिले साथ दिने बताए ।
यस बीमाको न्यूनतम बीमांक रकम ५० हजार रुपियाँ रहेको छ भने अधिकतम बीमांक रकम आम्दानीको स्रोत र बीमा शुल्क भुक्तान गर्ने क्षमतामा निर्भर हुनेछ ।
रिलायन्स लाइफको बाल बीमा योजनामा प्रवेश गर्न बीमितको उमेर एक महिना पूरा भएको हुनुपर्नेछ भने १५ वर्षसम्म यो बीमा गर्न सकिनेछ । त्यस्तै, अभिभावकको उमेर न्यूनतम २१ वर्षदेखि अधिकतम ५५ वर्षसम्म हुनुपर्नेछ ।
यो बीमाको अवधि न्यूनतम १० वर्षदेखि अधिकतम २५ वर्ष तोकिएको छ । यस बाल बीमामा प्रतिहजार ६० रुपियाँको दरले बोनस तोकिएको छ ।