कीर्तिमानी आरोही सानु शेर्पाले दोस्रो पटक मकालु चढे

Advertisement

काठमाडौं। कीर्तिमानी आरोही सानु शेर्पाले अर्को कीर्तिमान राख्न सफल भएका छन् । उनले  विश्वको पाँचौं अग्लो हिमाल मकालु (८,४८५ मिटर)को सफल आरोहण गरेका छन् । उनले  मकालुसहित विश्वका १४ मध्ये १३ वटा अग्ला हिमाल दुई पटक चढेर कीर्तिमान बनाउन सफल भएका हुन् । 

संखुवासभाको मकालु गाउँपालिका–१ स्थायी घर भएका ४६ वर्षीय सानु शेर्पाले १४ वटै अग्ला हिमालहरु दुई पटक आरोहण गर्ने लक्ष्य लिएका छन् । सोही क्रममा आज (शनिबार) मे २८ तारिख बिहान ७ बजेर १० मिनेटमा  मकालु हिमालको सफल आरोहण गरेर कीर्तिमान कायम गरेको पायोनियर एडभेन्चर ट्रेक्सका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।

Advertisement

उनले सोभन्दा अघि कञ्चनजंगा हिमालको दोस्रो पटक सफल आरोहण गरेका थिए । शेर्पाले अब पाकिस्तानको गसेरब्रुम–२ को आरोहण सम्पन्न गरेपछि विश्वमै दोहोर्याएर १४ वटा अग्ला हिमाल चढ्ने पहिलो व्यक्तिको रुपमा नाम लेखाउन सक्षम हुनेछन् ।

 उनले पायोनियर एडभेन्चर ट्रेक्सबाट मकालु हिमालकाे आरोहण गरेका हुन् । उनीसँगै मकालु पुगेका एक्स्पडिशन लिडर मिङ्मा दोर्ची शेर्पा, आरोही पासाङ ल्हामु शेर्पा, गाइट डन्डु शेर्पा, आङ छोङ्बी शेर्पा अन्य आरोहीमा खाई भान गुयेन,अमेरिका, सविता कंसवाल,भारत, र आरोही पासाङ ल्हामु शेर्पा अकिता मकालुकाे चुचुरोमा पुगेका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।

केही वर्षअघि स्पेनका आरोही होनेटोले दोहोरो पटक अग्ला १४ हिमालको आरोहण प्रयास गरेका थिए । तर सफल हुन सकेका थिएनन्। सानु शेर्पाले सन् २००६ मा पहिलो पटक चो ओयु हिमालबाट आठ हजार मिटर अग्ला हिमालको आरोहण शुरु गरेका थिए । उनले सन् २०१९ मा धौलागिरी हिमाल आरोहणसँगै १४ वटा हिमाल आरोहण सम्पन्न गर्ने आरोही बन्न सफल भएका थिए । 

शेर्पाले सन् २००६ मा चो ओयु, २००७ मा सगरमाथा, २००८ मा ल्होत्से, २०१० मा मनास्लु, २००६ सिसापाङमा, २०१२ मा केटु, २०१३ मा गसेरब्रुम–१, २०१४ मा कञ्चनजंगा र २०१४ ब्रोडपिक, २०१६ मा अन्नपूर्ण, २०१७ मा नाङगापर्वत, २०१९ मा गसेरब्रुम–२, मकालु र धौलागिरीको आरोहण गरेका थिए । 

सन् २०१९ मै अग्ला सात वटा हिमालको दोस्रो पटक आरोहण सम्पन्न गरेका उनले सन् २०२१ मा अन्नपूर्ण, ल्होत्से र केटु हिमालको आरोहण गरेका थिए । उनी चौध वटा हिमाल आरोहण गर्ने तेस्रो नेपाली हुन् । शेर्पाले दोस्रो पटक आरोहण गरेका हिमालहरु चो ओयु, सिसापाङमा, सगरमाथा, ल्होत्से, मनास्लु, अन्नपूर्ण, धौलागिरी, केटु, नाङगापर्वत, ब्रोडपिक र गसेरब्रुम–१ आरोहण गरेका हुन् ।

Advertisement

Advertisement