होटललाई प्लाष्टिकमुक्त गरी प्राकृतिक वस्तु प्रयोग महंगो परे पनि दीर्घकालमा फाइदा हुन्छः शाह

Advertisement

काठमाडौं । होटल एशोसिएशन नेपाल (हान)का उपाध्यक्ष विनायक शाहले जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोकेको बताएका छन् । 

शनिवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले जलवायु परिवर्तनमा सबैभन्दा धेरै असर प्लाष्टिकको कारण भएको भन्दै प्रदूषण घटाउने, मौसम परिवर्तनको असरलाई कम गराउँदै जाने लक्ष्यका साथ यो अभियान थालेको बताए । हानले यही जेठ १८ गतेबाट होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग बन्द गर्ने अभियान सञ्चलन गरेको थियो ।

Advertisement

शाहले जेठ १८ गतेबाट ‘नो टू प्लाष्टिक’ भन्ने नारासहित अभियान सञ्चालन गरेको बताए । उनले २०२४ सम्ममा होटलमा आउनेहरुलाई प्लाष्टिकजन्य वस्तु बेगर सेवा दिने काम सफल गर्ने लक्ष्य रहेको बताए । 

शाहले भने, ‘पहिलो कुरा जुन जलवायु परिवर्तनको असर छ, त्यसमा प्लाष्टिकको रोल धेरै देखियो । त्यो धेरै लामो समयसम्म माटोमा बसिराख्ने । त्यसले गर्दा हाम्रो राज्यप्रति, जनता, समाजप्रति होटल क्षेत्रको जुन जिम्मेवारी हो । प्रदूषण घटाउने, जलवायु परिवर्तनको असरलाई कम गराउँदै जाने, भएकोले कोभिडको २ वर्षमा राम्रो व्यापार हुन नसकेकोले के नयाँ गर्ने भनेर यसमा सोचेका थियौँ । हामीले होटलका रुमहरुलाई प्लाष्टिकमुक्त गर्ने, होटलका रुमलाई प्लाष्टिकजन्य सामानहरुबाट नयाँ विकल्प ल्याउने भन्नेमा हामी अघि बढ्यौँ । हामीले जेठ १८ गतेबाट ‘नो टू प्लाष्टिक’ भन्ने नारासहित हामीले यो काम शुरु गरेका छौँ । यसमा हामीले डिसेम्बर २४, २ वर्षभित्रमा हानका सदस्यहरुले यो नियम पालना गरेर होटलमा आउनेहरुलाई प्लाष्टिकजन्य वस्तु बेगर सेवा दिने भन्ने अभियान शुरु गरेका छौँ ।’

उनले थपे, ‘प्लाष्टिक भन्दा प्राकृतिक कुराहरु केही मात्रामा महंगो हुन्छ तर होटलहरुका लागि शुरुवाती चरण हो यो । दीर्घकालमा फाइदा हुन्छ । शुरुमा ग्राहकलाई न्यूनतम हुनेसम्म के गर्न सक्छौँ ? त्यो गर्नेछौँ । सामानहरु बजारमा उपलब्ध छ । सेवा क्षेत्र भएकोले गुणस्तर सर्वोपरी नै हुन्छ । प्लाष्टिकमुक्त सामानहरु पनि परीक्षण, गुणस्तर प्रमाणपत्र भएका हुन्छन् ।’

उपाध्यक्ष शाहले प्लाष्टिक भन्दा प्राकृतिक कुराहरु केही मात्रामा महंगो भए पनि यसले धेरै फाइदा गर्ने बताए । उनले ग्राहकलाई न्यूनतम हुने गरेर होटलका कोठामा प्राकृतिक कुराहरुको प्रयोगमा जोड दिने बताए । शाहले प्लाष्टिकमुक्त सामानहरु पनि टेस्टेड, क्वालिटी सर्टिफिकेशन भएको हुने बताए । प्लाष्टिकजन्य पदार्थको अत्याधिक प्रयोगका कारण पर्यटकीय गन्तव्य तथा हिमालीय क्षेत्रहरुमा जलवायु परिवर्तनको असर अत्याधिक बढेको छ । 

Advertisement

Advertisement