काठमाडौँ। औपचारिक सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले उडान सुरु गर्ने भएका छन् । एयर अरेबिया र फ्लाई दुबईले असार १७ (जुलाई १)बाट नियमित उडान भर्न लागेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगतनाथ निरौलाले नियमित उडान भर्नका लागि एयर अरेबिया र यूएईको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएको बताए ।
उनका अनुसार एयर अरेबियाले जुलाई १ बाट व्यवसायिक उडानको इच्छा प्रकट गरेको छ । भैरहवा विमानस्थलबाट श्रम गन्तव्य मुलुक जान चाहने यात्रुको माग तथा चाप उच्च रहेको कारण अन्य विदेशी वायुसेवा कम्पनीले पनि उडानका लागि रुची बढाएका निरौलाले बताए ।
एक महिनाअघि उद्घाटन भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन नियमित उडान गर्दै आएको जजिरा एयरलाइन्सले पनि तीन महिनापछि हप्ताको सातै दिन उडान भर्ने योजना बनाएको छ ।