काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले सबै वायुसेवाको जहाज एउटै विमानस्थलमा राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) रत्नपार्क नभएको बताएका छन्।
मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलको क्षमता अनुसार बाहिर पठाउन निर्देशन दिएको बताए ।
एउटै ठाउँमा उडान, पार्किङका कारण असहजता बढेको भन्दै उनले त्यसको नियन्त्रणका लागि काठमाडौं बाहिर राख्न निर्देशन दिएको बताए । काठमाडौं बाहिरका विमानस्थल पनि सुरक्षित रहेकाले र हवाई क्षेत्रको विकास हुने भएकाले सो निर्णय गरेको अधिकारीको भनाई छ ।
उनले भने, ‘ट्याम्पु जसरी पार्किङ गर्न त्रिभुवन विमानस्थल रत्नपार्क होइन। यो स्ट्यान्र्डर्ड एयरपोर्ट हो । यो अनिवार्य रहेको छ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११ वटा अन्तर्राष्ट्रिय र १७ वटा आन्तरिक विमानको पार्किङ क्षमता भए पनि हाल विमानस्थलमा ३४ वटा जहाज पार्किङ भइरहेको प्राधिकरणले जनाएको छ ।
महानिर्देशक अधिकारीले विदेशी २३ वटा जहाज पार्किङ गर्न मिल्ने गरी निर्माणको काम भइरहेको बताए । उनका अनुसार डेढ वर्षभित्र काम सम्पन्न हुनेछ ।
विभिन्न पाँच सुत्रीय माग राखी भोलि बुधबारबाट आन्तरिक उडान बन्द गर्ने निजी क्षेत्रका वायुसेवा सञ्चालकहरुको निर्णयको अधिकारीले आलोचना पनि गरे । उनले जहाज नउडाए उनीहरुलाई कारवाही गर्ने पनि बताए ।
अधिकारीले जहाज नउडाए प्राधिकरण चुप लागेर नबस्ने चेतावनी दिएका हुन् । उनले भने, ‘आफूले गर्न नपाउँदा उडानै बन्द गर्छु भन्ने धङ्धङी नदेखाए हुन्छ। प्राधिकरण र वायुसेवा कम्पनी नङ र मासु हुन्। आर्थिक विस्तारका लागि दुबैको उत्तिकै भूमिका छ। उडान बन्द गर्ने निर्णय गलत हो। सानो गल्तीले ठूलो क्षति हुनेछ। जनतालाई दुःख पाए प्राधिकरण चुप लागेर बस्ने छैन।’
आजै वायुसेवा संचालक संघले पत्रकार सम्मेलन गर्दै प्राधिकरणको निर्णयविरुद्ध उडान बन्द गर्ने घोषणा गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले उडान डिले हुने, यात्रु र वायुसेवा कम्पनीका कर्मचारीबीच झगडा हुने, ग्राउन्ड ह्यान्डलिङमा समस्याका कारण स्वीकृति लिएको बेस अनुसार उडान गर्न निर्देशन दिइएको बताए ।
उनले हेलिकोप्टरअन्तर्गत २१ वटा काठमाडौं र १७ वटालाई बाहिर बेस राख्न दिइएको बताए । फिक्स विङतर्फ १७ वटा काठमाडौं र बाँकी ३५ वटा उपत्यका बाहिर राख्न निर्देशन दिइएको सिटौलाले बताए।
कम्पनीले काठमाडौं बाहिरको बेस फेरबदल गर्न पाइने व्यवस्था रहेको भन्दै उनले प्राधिकरणले यसका लागि आवश्यक जनशक्ति, उपकरण व्यवस्थापन गर्ने जनाएको बताए ।
प्राधिकरणले ५५ वटा जहाज र हेलिकप्टरहरूलाई १० वटा विमानस्थलमा रात्रि पार्किङका लागि तोकेको छ जसमा चन्द्रगढी, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, सिमरा, नेपालगन्ज, धनगढी, रामेछाप र सुर्खेत विमानस्थल पुग्नुपर्ने हुन्छ ।