जागिर खोज्ने र जागिर दिनेबीचको दुई दिने मेला भोलिदेखि, ‘अन द स्पट’ जागिर मिल्ने

Advertisement

काठमाडौं । जागिर खोज्ने र जागिर दिनेहरुका बीचमा भेटघाट गराउने उद्देश्यले चितवनको भरतपुरमा दुई दिने रोजगार मेला भोलिदेखि सुरु हुने भएको छ । 

भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला भरतपुरको औद्योगिक प्रर्दशनी केन्द्रमा हुन लागेको हो ।

Advertisement

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेलले उद्योगीहरुलाई चाहिएको जनशक्ति उपलब्ध गराउन र बेरोजगारीलाई रोजगारीको अवसर दिनको लागि रोजगार मेला आयोजना गरिएको बताए  

रोजगारदाता र बेरोजगार व्यक्ति दुबैलाई भेट गराइदिने उद्देश्यका साथ आयोजना हुने यस मेलामा रोजगारदाताहरुका ६० वटा स्टलहरु रहने छन् । होटल, अस्पताल, पोल्ट्री फर्म, बैंक, अटोमोबाइल, निर्माण कम्पनीलगायतले भ्याकेन्सी प्रतावसहितका स्टलहरु राख्नेछन् । 

स्टलमा इच्छुक व्यक्तिले अन द स्पट फर्म भरेर तुरुन्त रोजगारी पाउनसमेत सक्ने अध्यक्ष कडेलले जानकारी गराए । उनले बजारमा सीप भएर पनि बेरोजगार बसेका व्यक्तिहरुलाई मेलाले रोजगारी दिने अवसर प्रदान गर्ने बताए । 

कंडेलले भने,  ‘प्राय चितवनमा रहेका सबै खालका उद्योगहरुलाई आफूलाई आवश्यक परेको जनशक्ति माग संस्थागत रुपमा शो गर्नुहुन्छ र रिक्त पदमा इच्छुकले आवेदन गर्नुहुन्छ । मेलामै रोजगारीको लागि अन्तरवार्ता हुने, नियुक्त गर्ने व्यवस्था पनि छ ।’ 

उनका अनुसार रोजगारदाताले मेलामै रोजगार गर्न चाहने व्यक्ति छान्न र रोजगारी चाहने व्यक्तिले पनि आफूले चाहेको उद्योग वा कम्पनी छान्न पाउने छन् । 

व्यक्तिले रोजगारी नपाइराखेको अवस्था र रोजगारदाताले जनशक्ति नपाएर उद्योग संचालन गर्न नसकिराखेको अवस्थालाई मध्यनजर गर्दै मेला आयोजना गरेको बताउँदै कंडेलले थपे, ‘रोजगारदाता र रोजगार गर्न चाहने दुबैलाई संयोजन गर्ने काम मेलामार्फत गरेका हौं । जिल्ला बाहिरबाट आएर काम गर्ने थलको रुपमा चितवनमै केही गरेर बस्न चाहनु हुन्छ भने उहाँहरुले पनि यो मेलाबाट लाभ लिन सक्नुहुन्छ ।’ 

त्यस्तै, विदेशमा सीप सिकेर नेपालमा केही गर्न चाहने अर्थात् मेलामा कुन कुन उद्योगहरु रहेछन् मेरो सीप कुन उद्योगमा जोडिंदा उत्पादन दिन सक्छु ? भन्ने उत्सुक व्यक्तिहरुले पनि मेलाबाट फाइदा लिन सक्ने उनको भनाई छ । कंडेलले विदेशबाट सीप सिकेर स्वदेशमा कुन वा कस्तो क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने जिज्ञासा राख्नेहरुको लागि पनि मेलामा परामर्श परिषद्को स्टल रहने बताए । यसले, नयाँ उद्यमी बन्न चाहनेहरुको लागि परापर्श सेवा प्रदान गर्ने र उद्यमी बन्न प्रोत्साहन गर्ने कंडेलको भनाई छ । 

उनका अनुसार चितवनभित्रका उद्योग व्यवसायीहरुको ६० वटा स्टलमध्ये चितवन उद्योग संघमा आवद्ध विभिन्न वस्तुगत १२ सय उद्योगीहरुले समेत मेलामा सहभागी जनाउने छन् । स्टल शुल्क र आगन्तुक शुल्क निःशुल्क रहेको उक्त मेला दिनको १० हजारले अवलोकन गर्ने अपेक्षा लिइएको छ । मेलाबाट कम्तीमा पनि सात सय जनाले रोजगारी पाउने अनुमान गरिएको छ । 

मेलाले विभिन्न संघसंस्था कम्पनी तथा उद्योगहरुमा आवश्यक रोजगारीको बारेमा जानकारी दिने, रोजगारीका लागि आवश्यक सीप र योग्यता भएका व्यक्तिहरुलाई रोजगारदाताबाट मेलामा नै नियुक्त गर्ने, चितवनका साथै देश विदेशमा उपलब्ध विभिन्न रोजगारीका अवसरबारे जानकारी दिने, विद्यार्थी तथा बेरोजगार युवालाई श्रम बजारको माग र आवश्यकताका आधारमा वृत्ति परामर्श सेवा प्रदान गर्ने, तालिम प्रदायक संस्थाले प्रदान गर्न सीपमूलक तालिम र अवसर प्रदान गर्नेछ । 

अध्यक्ष कडेलले मेलाका लागि चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ चितवन, चितवन चेम्बर अफ कमर्स, रत्ननगर उद्योग वाणिज्य संघ, नेपाल पोल्ट्री महासंघ, होटल व्यवसायी महासंघ नेपाल, क्षेत्रीय होटल संघ चितवन, रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल सौराहा समेतको सहयोग रहेको छ । 

Advertisement

Advertisement