काठमाडौं । नेपाल पर्यटन बोर्डले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई स्वागत गरेको छ । मन्त्री नियुक्त भएपछि मंगलबार श्रेष्ठ बोर्ड पुगेका थिए । स्वागत कार्यक्रममा मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको उत्थान आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उनले कोभिड–१९ ले गर्दा पर्यटन क्षेत्र धेरै मारमा परेकोले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नु पर्ने बताए ।
पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र हो भन्दै श्रेष्ठले बोर्डलाई नयाँ बजेट निर्माण गर्दा रोजगारी सिर्जना हुने गरी निर्माण गर्न सुझाव दिए । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले कोरोना महामारीले थलिएको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने हिसावले पर्यटन बोर्डले नयाँ बजेट तर्जुमा गर्न लागेको ानकारी दिए ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले कोरोना महामारीको समयदेखि नै बोर्डले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने तथा रोजगारी सिर्जना गर्ने गरी विभिन्न कामहरु गरिरहेको जानकारी दिए । उनले मन्त्री श्रेष्ठबाट प्राप्त रचनात्मक निर्देशन र सुझाव अनुरुप काम गर्न तयार रहेको बताए । रेग्मीले पर्यटन बोर्डका गतिविधिको बारेमा समेत जानकारी दिएका थिए ।
नेपाल पर्यटन बोर्ड एकल कर्मचारी युनियनका अध्यक्ष गोपाल भण्डारीले पर्यटन प्रवर्द्धन तथा नयाँ कार्यक्रम कार्यान्वयनका लागि बोर्डका कर्मचारी सधैं सहयोगी रहेको बताए । कार्यक्रममा फोटो पत्रकार भरतबन्धु थापाले लेखन तथा संकलन गरेको वेस्टर्न नेपाल नामक पुस्तकको विमोचन समेत गरिएको थियो ।