काठमाडौँ । नेपाल पर्यटन बोर्डले विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुसँग छलफल गरेको छ । पर्यटन बोर्डले सोमबार आयोजना गरेको कार्यक्रममा संस्कति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठ पनि सहभागी थिए ।
मन्त्री श्रेष्ठले नेपालको पर्यटन प्रर्वद्धनका लागि विदेशस्थित नेपाली दूतावास र राजदूतहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विदेशमा गरिने कार्यक्रममा समन्वय गरेर काम गर्नुपर्ने बताए ।
उनले दूतावासहरु नै विदेशमा देशको प्रतिनिधित्व गर्ने आधिकारिक निकाय भएकाले नेपालको बारेमा सकारात्मक सन्देश प्रभाव गर्न आवश्यक रहेको भन्दै देशको प्रवर्द्धनका लागि सबैले आ–आफ्नो ठाउँबाट रचनात्मकढंगले कार्य गर्नुपर्ने बताए ।
पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले अन्तर्राष्ट्रियस्तरमा देशको छवी निर्माणमा राजदूतहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै दूतावासहरूसँग समन्वय र सहकार्यका लागि मन्त्रालय र बोर्ड सधै तयार रहेको बताए ।
पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर भट्टराईले पनि नेपाल हवाई सुरक्षाका हिसावले सुरक्षित मुलुक रहेकाले सोही अनुरुप नेपालको हवाई सुरक्षाको विषयमा आएका भ्रम चिर्न आवश्यक रहेको बताए ।
जापानमा लागि नवनियुक्त नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, स्पेनका लागि शर्मिला पराजुली ढकाल, इजिप्टका सुशील लम्साल, म्यानमारका लागि हरिशचन्द्र घिमिरे, अष्ट्रियाका लागि भरतराज रेग्मी, इजरायलका लागि कान्ता रिजाल, साउथ अफ्रिकाका लागि दानबहादुर तामाङ लगायतका नवनियुक्त राजदूतहरुले नेपालको प्रवर्द्धनका लागि देश अनुसार फरक फरक प्रवर्द्धनात्मक सामग्री तयार गर्नुपर्ने, विदेशमा गरिने कार्यक्रममा लागि बजेटको व्यवस्था गर्न तथा कार्यक्रम गर्दा दूतावाससँग समन्वय गर्नुपर्ने बताए ।
राजदूतहरूले नेपालको पर्यटनको विकासका लागि हवाई कनेक्टिभिटि अत्यावश्यक रहेको बताए । विदेशमा हुने कार्यक्रमहरु प्रभावकारी बनाउन दूतावास, मन्त्रालय, बोर्ड लगायतका निकायकाबीच समन्वय गर्न सुझाव समेत उनीहरुले दिएका थिए । राजदूतहरुले राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्दै आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने बताएका थिए ।
बोर्डका उपाध्यक्ष चन्द रिजालले बोर्डको पनि आफ्नै सीमितताहरु हुने गरेको अवस्थामा दूतावासहरुले पनि सोही अनुरुपको समन्वय र सहकार्य गर्नुपर्ने बताए । पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले आफूहरुले नेपालको पर्यटन प्रवर्द्धनमा दूतावासहरूसँग सहयोगको अपेक्षा गरेको बताए ।
नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाल हवाई उड्डयनमा आइकाओको मापदण्डअनुरुप सुरक्षित गन्तव्य रहेकाले राजदूतहरुले नेपालको हवाई सुरक्षाका विषयमा गरिने भ्रम चिर्दै नेपाल जान अभिप्रेरित गर्नु पर्ने बताए ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा)का अध्यक्ष रमेश थापा, टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी लगायतले नेपाल पर्यटनका लागि उर्ययुक्त गन्तव्य रहेको बताउँदै नेपालमा करिब २५ लाख पर्यटकको आतिथ्यताको लागि तयार रहेको बताएका थिए ।