काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पर्यटन भित्राउने काममा निजी क्षेत्रले पूर्वाधाररुपमा होटल, रेष्टुरेष्ट आदि बनाउन सक्ने तर शहरलाई सफा गर्ने, सडक बनाउने काम गर्न नसक्ने बताएका छन् ।
नेपाल पर्यटन बोर्ड र महासंघको संयुक्त आयोजनामा राजधानीमा बुधबार विपद् प्रतिरोधात्मक पर्यटन उद्योगको निम्ति सहकार्य विषयक विचार गोष्ठीमा उनले सरकारले दिमागमै राखेर एयरपोर्टदेखि लिएर हरेक पर्यटन स्थलसम्म कसरी पर्यटकहरुले चाहेनुसारको सेवा, सुविधा दिन सकिन्छ ? भन्ने कुरामा ध्यान पुर्याउन जरुरी रहेको बताए ।
संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पनि सहभागी उक्त कार्यक्रममा गोल्छाले भने, ‘हामी लगानी गरेर पर्यटकलाई स्वागत गर्न सक्छौं । तर, नेपाल आइसकेपछि पर्यटकको अपेक्षानुसारको सरकारले पनि पूर्वाधारमा सुधारका कार्यक्रमहरु ल्याउनु पर्छ । खासगरी पर्यटकलाई लक्षित गरी पूर्वाधारमा सुधारका कार्यक्रमहरु ल्याउनु पर्छ । हामीकहाँ पर्यटकको लागि अझै एयरपोर्टमा स्तरीय ट्याक्सीको व्यवस्था छैन् । कतिपय ठाउँमा स्तरीय शौचालय, गुणस्तर खानालगायत धेरै कमजोरीहरु छन् ।’
उनले नेपालमा पर्यटकलाई आकर्षित गर्ने धेरै सम्भावनाहरु रहेको तर पूर्वाधार निर्माण राम्रो नभएकाले असर भइराखेको बताए । नेपालमा पर्यटकका लागि आकर्षण गर्ने चिजहरु धेरै भएपनि भने जति पर्यटकलाई भने स्वागत गर्न नसकेको उल्लेख गर्दै गोल्छाले भने, ‘विगतमा नेपाल पर्यटन वर्ष मनाउँदै गर्दा कोभिड–१९ फैलिएर लगभग ७० प्रतिशत देशका आर्थिक क्षेत्र प्रभावित भएका थिए । जसमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको थियो । २० लाख पर्यटक भित्र्याउने भनेका थियौं तर यो संख्या अरु देशको तुलनामा अर्थात् हाम्रो भन्दा सानो देशले यो संख्याभन्दा बढी पर्यटक भित्र्याइराखेका छन् । त्यसैले अब यो संख्यालाई बढाउने तिर लाग्नु पर्छ ।’
विदेशीले जहिले पनि काठमाडौं एयरपोर्टलगायत विविध कुराहरुको स्तरीयताबारे गुनासो गर्दै आएको उनले सुनाए । गोल्छाले माथिल्लो स्तर (धेरै खर्च गर्ने खालका)का पर्यटकहरु नेपाल आउँदा उनीहरुको आवश्यकतानुसार पूर्वाधार निर्माण तथा मदिराललगायत धेरै चिजको कमी भएको बताए ।
उनले सरकारले बन्द गरेको अल्कोहलको आयात प्रतिबन्धलाई फुकुवा गर्नुपर्नेमा संकेत गरेका छन् । पर्यटन क्षेत्रमा भएका विविध चुनौतीको समाधानका लागि सरकारसमक्ष धेरै बुँदाहरु पेश गर्दै आएको भन्दै अध्यक्ष गोल्छाले पर्यटनबाट लाभ लिएर देशलाई समृद्धि बनाउन सकिने भएकाले सरकारले पर्यटन क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
महासंघको पर्यटन तथा हवाई उड्यन समितिका अध्यक्ष जोत्सना श्रेष्ठले वातावरणलाई जोगाउने हिसाबले पर्यटन क्षेत्रको प्रवर्द्धन र विकास गरिनुपर्ने बताइन् । उनले महासंघले दीगो पर्यटन प्रवर्द्धको निम्ति बेलाबेलामा विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना रहेको जानकारी दिइन् ।