काठमाडौँ । ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा वर्तमान महासचिव सरिता लामाले उम्मेदवारी घोषणा गरेकी छन् । अफ द बाल ट्रेकिङ कम्पनीका प्रबन्ध निर्देशकसमेत रहेकी उनले टानको आउने साउन ३० गते हुने अधिवेशन तथा निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने कपोरेट नेपाललाई बताइन् ।
पर्यटन श्रमिकहरुको व्यवसायिक हकहित, सशक्तिकरण, समावेशी नेतृत्व र टानको गरिमालाई नयाँ उचाईमा पुर्याउने उद्देश्य लिएर उम्मेदवारी दिन लागेको बताउँदै लामाले टानको यो ४४ औं साधारणसभामा आफू विजयी हुने पनि बताइन् । उनले भनिन्, ‘म पर्यटन क्षेत्रमा आवद्ध भएदेखि नै टानसँग सहकार्य गरिरहेको छु । टानको ४१ औं साधारणसभाबाट निर्वाचित कार्यसमितिको सदस्य हुँदै अहिले म महासचिव छु । अध्यक्षमा मेरो स्वाभाविक दावी हो ।’
लामाले टानको वर्तमान अवस्थाको विषयमा सुचित रहेको र भविष्यमा यसको गरिमालाई नयाँ ढंगबाट उठाउनसक्ने योजनाका साथ यो पटक अध्यक्षमा उम्मेदवारी दिन लागेको बताइन् । कोभिड महामारीले थलिएको पर्यटन क्षेत्रलाई नयाँ ढंग र संरचनाबाट पुनः पूरानै लयबाट विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्ने योजनाका साथ उम्मेदवारी घोषणा गरेको बताइन् ।