काठमाडौं । बीमा समितिले अभिकर्तालाई कुनै पनि हालतमा कम्पनीहरुले ऋण दिन नहुने र त्यसरी ऋण दिएको पाइएमा कारबाही गरिने बताएको छ ।
तर, यता अभिकर्ता भने आयस्तर हेरेर ऋण तिर्नसक्नेहरुलाई ऋण लिनुपर्ने अडान कायम राखेका छन् । यसअघि यस्तो सुविधा पाउँदै आएको अभिकर्तालाई अहिले बीमा समितिले ऋण दिन प्रतिवन्ध लगाएको छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अभिकर्तालाई ऋण दिन प्रतिवन्ध लगाएको अवस्थामा कसैले भित्रभित्रै ऋण दिएको पाइए कारवाही गर्ने बताए । उनले भने, ‘हामीले अभिकर्तालाई दिने हरेक प्रकारका ऋणमा कडाई गरिएको अवस्था छ । कसैले भित्रभित्रै ऋण दिएको पाइए कारवाही गछौं ।’
अभिकर्ताहरुले स–सानो रकमको ऋण माग गर्ने कुरा उहाँहरुको ठाउँबाट ठिक भए पनि जथाभावी जनताको पैसा लगानी गर्ने कुरा उचित नहुने उनको तर्क छ । पौडेलले मोटरसाइकल किन्न, मोवाइल फोन किन्न केही लाखसम्मको रकम कम्पनीले रेकर्ड राखेर दिएमा आपत्ति नमानेको बताए ।
उनले भने, ‘तर, यहाँ के भयो ? भने घरजग्गाका लागि, गाडी किन्ने नाममा करोडौं ऋण लेनदेन हुँदा त्यसले विकृति ल्यायो । हामीले ठूला ऋण बन्द गरेका हौं ।’ बीमा समितिले गत वर्षमा अभिकर्ताहरुले कम्पनीहरुबाट लिएका ठूला ऋण तथा सापटी तुरुन्तै फिर्ता गर्न निर्देशन दिएको थियो । यस्तो रकम अहिले थोरै थोरै फिर्ता भइरहेको कम्पनीहरुको भनाई छ ।
यता, पेशागत अभिकर्ता महासंघका अध्यक्ष नन्द तिवारीले ऋणको विषयलाई लिएर अभिकर्तालाई दुःख दिन नमिल्ने बताए । उनले गैरकानुनी रुपमा ऋण दिने कार्य भएको भए त्यसलाई रोक्ने जिम्मा पनि बीमा समितिको नै भएको र यसमा नीतिगतभन्दा व्यवहारिक कडाई आवश्यक रहेको जानकारी दिए ।
तिवारीले भने, ‘यहाँ स–साना ऋणका लागि त्यति धेरै समस्या छैन् । तर कम्पनी व्यवस्थापकले नै खुशी भएर अभिकर्ताहरुलाई मोटो रकम वितरण गर्दा त्यसले समस्या निम्त्याएको अवस्था हो । अब नियामक निकाय भएको हिसाबले बीमा समितिले त्यस्ता घटना रोक्न सक्रिय भूमिका खेल्नुपर्छ ।’
विगतमा लगेका ऋणहरुमा पनि अभिकर्तालाई दुःख दिने शैली ठिक नभएको र दुःख दिनुभन्दा कुन समयमा कस्लाई कति ऋण दिनु ठिक हुने बीमा समितिले तोक्नु पर्ने उनले बताए ।
विगतमा तुरुन्तै सबै ऋण फिर्ता गराउँछौं भनेर तातेको बीमा समिति पनि अहिले एक कदम पछि हटेको अवस्था छ भने अभिकर्ताहरुले पनि आफ्नो आवश्यकताको नाममा भित्रभित्रै भए पनि धेरै रकमको ऋण लिँँदै आएको पाइएको छ ।