विकास र सुशासनका लागि बलियो शक्ति चाहिन्छ, त्यो एमाले मात्रै होः ओली

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आसन्न संसदीय निर्वाचनमा आफ्नो पार्टी नेपाली काँग्रेसभन्दा अत्याधिक मतले अगाडि हुने दावी गरेका छन् । 

सत्तारुढ गठबन्धनवालाहरुको मत सर्वेक्षणले एमालेले काँग्रेसको हाराहारीमा मत ल्याउने प्रचार गरिरहेको भन्दै ओलीले सो सर्वेक्षण नै गलत रहेको जिकीर समेत गरे । सोमबार पोखरामा आयोजित पार्टीको चुनावी सभामा उनले एमाले एक्लैले बहुमत ल्याउने र चुनावमा सहकार्य गरिरहेका दलहरुलाई पनि सामेल गरेर सरकार बनाउने बताए । 

Advertisement

मुलुकलाई शान्ति, विकास, सुशासन र स्थिरताको बाटोमा अघि बढाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यो शक्ति एमाले मात्रै हुने सक्ने बता । मुलुकको स्वाधिनता, स्वाभिमान जोगाउनका लागि पनि आगामी निर्वाचनपछि एमालेले सरकार बनाउनैपर्ने उनँको भनाई थियो । 

ओलीले भने, ‘नेकपा (एमाले)ले बहुमतको सरकार बनाउनै पर्छ । र, यस देशलाई राष्टिय स्वाधिनता, स्वाभिमान, लोकतन्त्र, लोकतान्त्रिक प्रणाली मात्रै होइन्, लोकतान्त्रिक अभ्यास, मूल्य, मान्यतासहितको देश, शान्ति, सुब्यवस्थासहितको देश बनाउनु पर्दछ । यस्ता ससाना भ्रष्ट तत्व र शक्तिहरु मिलेर सरकार बनाउनेतिर होइन् । यस देशलाई अव विकासको बाटोमा लैजान, सुशासनको बाटोमा लैजान, शान्तिको बाटोमा लैजान, स्थिरताको बाटोमा लैजान, भ्रष्टाचार नियन्त्रणको बाटोमा लैजान एउटा सुदृढ राष्टिय शक्ति, बलियो राष्टिय शक्ति आवश्यक छ । त्यो अरु कसैसँगबाट हुन सक्नेवाला छैन । त्यो एमाले हो ।’ 

उनले थपे, ‘अहिले गठबन्धनले विभिन्न प्रकारका सर्भे भन्दै परिणामहरु छुस्स, छुस्स बाहिर ल्याईरहेको छ । यसले गरेको सर्भे, उसले गरेको सर्भे र एमालेलाई काँग्रेसको हाराहारीमा देखाउने कोसिस भईराखेको छ । काँग्रेसका हाराहारीमा सिट ल्याउँछ एमालेले भनिएको छ । काँग्रेसको हाराहारी भोट ल्याउँछ एमालेले भन्ने त्यो इम्प्रेशन दिन खोजिएको छ । म हाम्रो साथीहरुलाई भन्न चाहन्छु–त्यो कुरा गलत हो । नेकपा एमाले अहिले काँग्रेसको हाराहारीमा होइन् । सानो मार्जिनले होइन । अत्याधिक मार्जिनले काँग्रेस भन्दा अगाडि हुन्छ । एकल बहुमत ल्याउँछ । एकल बहुमतको सरकार बनाउँछ । यसको अर्थ अरु कसैलाई सरकारमा सामेल नै गर्नु हुुन्न भन्ने होइन । अरुलाई पनि सरकारमा सामेल गरिन्छ । तर, त्यो सरकार फेरी पनि एमालेको सरकार हुन्छ ।’

ओलीले संविधान उलंघन गर्ने काम आफूहरुले नगरी सत्तारुढ गठबन्धनले गरेको आरोप समेत लगाए । संविधानमै नभएको परमादेशबाट सरकार बनाएर प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले संविधान कुल्चिने काम गरेको उनले तर्क गरे । 

Advertisement

Advertisement