जुम्ला पुगेर प्रचण्डको आश्वासन– कर्णालीको सडक पिचमात्रै होइन, फराकिलो बनाइदिन्छौं

Advertisement

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जुम्ला पुगेर कर्णालीको सडक पिचमात्रै होइन फराकिलो बनाइदिने आश्वासन दिएका छन् । 

चुनावी सभामा मंगलबार उनले आर्थिक गतिविधि र व्यापार व्यवसायको विकासका निम्ति कर्णालीको सडक बनाइदिने बताउँदै भने, ‘पहिले बिरामी ओसारिन्थ्यो, अहिले डाक्टर उत्पादन गरेर देशभरिका बिरामीलाई उपचार गर्न पठाउन सक्ने भइसकेको छ । कर्णालीको अर्गानिक उत्पादन देशभर चर्चामा छ । गठबन्धनका पार्टीको ध्यान अहिले कर्णालीतिर बढी छ । कर्णाली र सुदूरपश्चिमको भौतिक विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन विकासमा जोड दिने भनेका छौं । कर्णालीको विकास हाम्रो दिमागमा सबैभन्दा अघि नै छ । निर्वाचनपछि गठबन्धनको सरकार बन्छ । अत्यधिक बहुमत पनि आउँछ । अनि समृद्ध कर्णालीको अभियान अघि बढ्छ ।’

Advertisement

एमालेका अध्यक्ष केपी ओली आगामी निर्वाचनबाट पत्तासाफ हुने जिकिर गर्दै प्रचण्डले दुईतिहाइको सरकार बचाउन नसक्ने, संविधानमाथि घात गर्ने, संसद् विघटन गर्ने र पार्टी विघटन गरेर धुजाधुजा पार्ने ओली यो निर्वाचनबाट पत्तासाफ हुने तर्क गरेका हु्न । 

उनले ओली राजनीतिमा असफल भइसकेको पनि बताए । प्रचण्डले जनताको अगाडि उनले पश्चाताप गर्नुपर्ने बताए । उनले भने, ‘७० वर्षसम्म लडेर ल्याएको संविधानलाई च्यात्ने दुस्साहस केपी ओलीले गरे । संविधान मिचेर लोकतन्त्रका आधारभूत मूल्यमान्यता भत्काए । त्यसविरुद्ध हामीले संघर्ष गर्‍यौं । त्यही क्रममा यो गठबन्धन बन्यो । अब नयाँ नेपाल निर्माण गर्ने अभिभारा पनि गठबन्धन दललाई नै छ । त्यसैले गठबन्धनको पक्षमा मत खसाल्नुहोस् ।’

निर्वाचनमा सामान्य औपचारिक निर्वाचनको अभ्यास मात्रै छैन् भन्दै प्रचण्डले अबको चुनाव अग्रगामी र पश्चगामीबीचको लडाईं भएको दावी गरे । ओलीको गठबन्धनलाई भोट दिनु भनेको निरंकुशता र अराजकताको भूमरीतर्फ जानु भएको उनले बताए । प्रचण्ले कर्णालीबाट प्रतिगमनकारी, निरंकुशतावादी र सामान्तवादीलाई शून्य बनाएर छाड्नुपर्ने बताए । 

सोही अवसरमा उनले आफ्नो पार्टीका प्रतिनिधिसभा उम्मेदवार गोमा कुवरलाई जिताएर पठाए फूलमन्त्री बनाउने सम्भावना रहेको बताए । प्रचण्डले रुख, हँसिया–हथौडा र कलम चिह्नमा मत हाल्न दुविधा नमान्नसमेत आग्रह गरे ।

Advertisement

Advertisement