काठमाडौं–१ का मतदाताले १५ बर्षसम्म प्रकाशमान कहाँ छन् ? के गर्छन् ? पत्तै पाएनन्ः पौडेल

Advertisement

काठमाडौं । नेकपा एमालेका नेता किरण पौडेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने बताएका छन् । 

शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी घरदैलो कार्यक्रममा उनले आसन्न निर्वाचनबाट आफू विजयी बनेपछि यस निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्ने काममा लाग्ने बताए । 

Advertisement

पौडेलले अहिलेका जनप्रतिनिधि (प्रकाशमान सिंह) ५ वर्षसम्म के गर्दैछन् ? कसका निम्ति हिँड्दैछन् ? भन्नेकुराको महशुससमेत जनताले गर्न नपाएको भन्दै आगामी दिनमा आफूले जितेपछि हरेक बिहान निर्वाचन क्षेत्रका जनताको समस्या समाधान गर्ने र गुनासो सुन्ने बताए । 

उनले जनताको गुनासो सुन्नका लागि आफूले जनतासँग जनप्रतिनिधि भन्ने अभियान सञ्चालन गर्नेपनि बताए । काठमाडौं १ मा एमालेको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार रहेका नेता पौडेलले काठमाडौं १ का जनताले आफ्नो प्रतिनिधि कोही भएको महशुस गर्न नपाएको बताए । 

उनले आसन्न निर्वाचनको जितसँगै काठमाडौं १ का मतदाताहरुको चर्किरहेको घाउलाई निको पारेर जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने र शिक्षा, स्वास्थ्यका समस्याहरुको समाधान गर्ने पक्षमा नेकपा एमाले रहेको प्रष्ट पारे । 

पौडेलले भने, ‘यो क्षेत्रका जनताले आफ्नो प्रतिनिधि कोही भएको महशुस गरिरहनुभएको छैन् । आफूले निर्वाचित गरेर पठाएको जनप्रतिनिधि कहाँ छन् ? के गर्दैछन् ? कसका निम्ति हिँड्दैछन् भन्नेकुरा यहाँका मतदाताहरुले अनुभव गरिरहनुभएको छ । त्यसले गर्दा १५ वर्षदेखि यहाँका मतदाताहरुको मनमा चर्किरहेको घाउलाई निको पारेर अबको निर्वाचनपछि ५ वर्षसम्मको निम्ति जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने, शिक्षा स्वास्थ्यका समस्याहरुको समाधान गर्ने पक्षमा हामी छौँ ।’

उनले थपे, ‘पूरानो पुस्ताबाट यो सम्भव छैन भन्नेकुरा जनताले महशुस गर्नुभएको छ । जनताले परिवर्तन खोज्नुभएको छ । यहाँ आउनुभएका प्रतिस्पर्धीमध्ये सबैभन्दा उपयुक्त पात्रको रुपमा मतदाताले मलाई हेरिरहनुभएको छ । चुनाव जितेपछि ५ वर्ष हराउँछौ भन्ने मतदाताको गुनासो छ । अब निर्वाचित भएपछि हाम्रो घरदैलो शुरु हुन्छ । निर्वाचनपछि कम्तिमा २ घण्टा हरेक बस्तीमा गएर जनतासँग जनप्रतिनिधि भन्ने अभियान चलाउँछौँ ।’

पौडेलले काठमाडौं १ का मतदाताहरुले निर्वाचन क्षेत्रका अन्य प्रतिस्पर्धीहरुमध्ये सबैभन्दा उपयुक्त पात्रको रुपमा आफूलाई हेरिरहेको दाबीसमेत गरे । सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकप्रिय उम्मेदवार रवीन्द्र मिश्र र सिंह पौडेलका मुख्य प्रतिस्पर्धी हुन् । 

Advertisement

Advertisement