गठवन्धन पेलेर जाने रणनीतिमाः बागीहरुलाई निस्तेज पार्ने, गठवन्धन उम्मेदवारलाई हार्न नदिने

Advertisement

काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उठेका बागी उम्मेदवारहरुलाई निस्तेज पार्न अधिकतम प्रयास गर्ने भएको छ । 

शनिबार सानेपास्थित नेपाली काँग्रेसको केन्द्रिय कार्यालयमा बसेको सत्ता गठबन्धनको केन्द्रिय निर्वाचन परिचालन समितिको सचिवालय बैठकले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुका कुनै पनि उम्मेदवार पराजित हुन नदिनका लागि बागी उम्मेदवारहरुलाई निष्क्रिय बनाउन अधिकतम् प्रयास गर्ने निर्णय लिइएको सो निर्वाचन परिचालन समितिका सदस्य सुरेश आचार्यले बताए । 

Advertisement

बैठकले बागी उम्मेदवारहरुलाई निस्तेज पार्ने काममा ध्यान दिन गठबन्धन दलका शीर्ष नेताहरुलाई पुनः ध्यानाकर्षण समेत गराएको छ । आचार्यले भने, ‘जहाँ गठबन्धनविरुद्ध छ, त्यसलाई निष्क्रिय गराउनका लागि अधिकतम् प्रयास गर्ने निर्णय गरिएको छ । र, त्यसका लागि आवश्यकता अनुसार हरेक दलका पार्टीको नेतृत्वलाई आ–आफ्नो तर्फबाट आग्रह गर्ने निर्णय भएको छ । मूल रुपमा चाँही गठबन्धन दलका उम्मेदवारहरु कुनै पनि ठाउँमा पराजित हुने स्थिति आउन नदिनका लागि नै निरन्तर रुपमा हामी यो बैठक गरिराखेका छौं । हामीले सबै आ–आफ्ना दलका तर्फबाट अवस्था कस्तो भनेर उम्मेदवारहरुको मूल्यांकन गरिराखेको छांै । र, सोही मूल्यांकनको आधारमा रणनीतिहरु तय गर्दै जाने निर्णय पनि गरेका छौं ।’

बैठकमा एमाले नेतृत्वको गठबन्धनले चुनावी आचारसंहिता उल्लंघन गरिरहेको आरोप लगाउँदै निर्वाचन आयोगलाई त्यसबारे सचेत गराउने निर्णय पनि गरेको नेकपा (एकीकृत समाजवादी)का नेता लक्ष्मण केसीले बताए । 

Advertisement

Advertisement