सामान्य अवस्था नआउन्जेल अहिलेको गठबन्धनलाई निरन्तरता दिन्छौंः सिंह

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सुकुम्वासी बस्तीमा नाममा नदी किनारका सार्वजनिक जग्गा अतिक्रमण गरी बसेकाहरुलाई डोजर चलाउनु नहुने बताएका छन् । 

सत्ता गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनले सुकुम्वासी बस्तीमा डोजर चलाउनु नहुने बताएका हुन् । भोटको राजनीतिका कारण लामो समयदेखि वागमतीसहित काठमाडौंका अरु नदी किनार अतिक्रमण गरी बस्नेहरु बढ्दै गएका छन् । यस्ता वस्तीहरुमा धनाड्यदेखि दुई नम्बर व्यापार व्यवसाय गर्नेसम्म रहेको बताइने गरेको छ । 

Advertisement

काठमाडौं महानगरपालिकामा स्वतन्त्ररुपमा विजयी मेयर बालेन शाहले नगरभित्रका अतिक्रमित संरचना हटाउने तयारीलाई चुनावपछि तिरन्तरता दिने तयारी गरेको बेला सिंहले अवरोध सिर्जना गर्न खोजेका हुन् । भोट माग्ने क्रममा आईतवार थापाथलीस्थित सुकुम्वासी बस्तीमा बोल्दै सुकुम्वासी बस्ती हटाउनु अमानवीय हुने बताए । यस्ता वस्तीको दीर्घकालिन समाधान पनि नगर्ने र भोटका लागि उनीहरुलाई प्रोत्साहित मात्रै गर्ने नेताहरुको प्रवृत्तिले गर्दा समस्या अहिले जटिल बनेको छ । 

नेता सिंहले सरकारले सुकुम्वासीहरुको समस्या समाधान गर्नका लागि सरकारले भूमि आयोग गठन गरेको उल्लेख गर्दै सो आयोगको प्रतिवेदन आएपछि नीति, कार्यक्रम लागू गराउन आफू प्रतिवद्ध रहेको दावी गरे । उनले अव्यवस्थित बसोवास हटाउने हो भने सरकारले निश्चित कार्यक्रम ल्याउनुपर्ने तर्क गरे । 

अव्यवस्थित बसोवासको समस्या समाधान गर्न सरकार र सुकुम्वासीहरु दुवै पक्षलाई सहज हुनेगरी काम गर्नुपर्ने सिंहको तर्क छ । उनले भने, ‘यो भन्दा अगाडी पनि मैले भनेको छु, अमानवीय दृष्टिकोणबाट हामी कसैले पनि आफू सत्तामा छ भनेर जबरजस्ती कसैले गर्न मिल्दैन भन्नेकुरा अहिले पनि म भन्छु । भूमि आयोगको प्रतिवेदन आइसकेपछि त्यसमा भूमिहीनहरुलाई सरकारले जुन नीति, कार्यक्रम बनाउँछ, त्यो कार्यक्रमलाई लागू गराउनको लागि म त्यसमा लाग्नेछु भन्नेकुरा विश्वास दिलाउन चाहन्छु ।’ 

नेता सिंहले मंसिर ४ गतेको चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दावी गरे । उनले कार्यक्रमपछि प्रतिक्रिया दिँदै संविधान कार्यान्वयनका लागि सामान्य अवस्था नआउन्जेल गठबन्धनलाई निरन्तरता दिइने बताए । उनले निर्वाचनपछिको संसदबाट देशको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनका लागि आवश्यक कानूनको सुधार तथा परिमार्जन गरिने बताए । 
 

Advertisement

Advertisement