फेरि देउवा नै प्रधानमन्त्री हुने बताउँदै आएका महतले आज भने– गगन वा अरु पनि हुनसक्छ

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले आसन्न आउँदो सरकारको प्रधानमन्त्री गगन थापा वा अरु जो पनि हुनसक्ने बताएका छन् । 

यसअघि शेरबहादुर देउवा नै चुनाव पनि पुनः प्रधानमन्त्री हुने बताउँदै आएका उनले सोमबार आफ्नो पार्टीको पत्रकार सम्मेलनमा भनाई सच्याएका हुन् । देउवा नै फेरि प्रधानमन्त्री हुने भन्दै जनताले झन मत नदिने देखेपछि महतले आज भने कुरा सच्याएका हुन् । 

Advertisement

अबको संसदीय निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दावी गर्दै उनले निर्वाचनपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने दोहोर्याए । 

मुलुकको समृद्धि, विकास र रोजागारीको आकांक्षालाई सम्बोधन हुने गरी आगामी पाँच वर्ष सरकारको नेतृत्व गर्ने आफूहरुको लक्ष्य रहेको महतको भनाई थियो । उनले भने, ‘सत्तारुढ गठबन्धनले फराकिलो बहुमतले हामी विजयी हुनेछौं । र यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ । हाम्रो प्रचार अभियान देशभर जारी छ । संविधानको रक्षा गर्दै अघि बढने यो गठबन्धनको लक्ष्य हो । स्थायित्व दिने हो । आगामी पाँच वर्ष सरकार चलाउने र विकासको गतिलाई तीव्रता दिने तथा जनताको समृद्धिको चाहनालाई पूरा गर्ने काम हुन्छ । हामी युवाहरुलाई स्वदेशमै राजगारी दिने गरी त्यसको अवसरको पनि आवश्यक व्यवस्था मिलाउनेछौं ।’

महतले नेकपा (एमाले)ले खुलेआम निर्वाचन आचारसंहिताको उलंघन गरेको आरोप लगाउँदै कारबाही गर्न पनि निर्वाचन आयोगसँग माग गरे । उनले निर्वाचन आचारसंहिताको खिलापमा एमालेले खुलेआम प्रलोभन दिने, सामाजिक संघसंस्थाहरुको दुरुपयोग गर्ने काम गर्दा पनि निर्वाचन आयोगले कारबाही नगरेको बताए । 

Advertisement

Advertisement