काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाकी नातिनी मनिषा कोईराला रवीन्द्र मिश्रलाई जिताउन आफै घरदैलामा हिंडेकी छन् ।
बलिवुडमा कुनै समयकी निकै चर्चित अभिनेत्री कोइराला काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका मिश्रलाई भोट माग्दै मंगलबार घरदैलोमा सहभागी भएकी हुन।
घरदैलो कार्यक्रम बबरमहलबाट शुरु भएको थियो । बबरमहलमा आयोजित कोण सभामा मिश्रले कोइरालालाई आभार प्रकट गरे ।
उनले भने, ‘हामी उम्मेदवारलाई सघाउन र राप्रपाका पक्षमा देशव्यापी जनमत बढाउन यहाँको सकृय भूमिका र योगदानका लागि मनिषा जी प्रति पार्टी र मेरो व्यक्तिगततर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।’
मनिषाले नेपाली कांग्रेसले विपीको विचारलाई लत्याएको तर राप्रपा तथा यसका अध्यक्ष राजेन्द्र लिङदेनले सो विचारलाई संरक्षण गरेकाले आफूले समर्थन गरेको बताउँदै यस पटक राप्रपाका उम्मेदवारहरुलाई जिताउन आव्हाज गरेकी छन् ।