चार महिनामा ८६ हजार पर्यटकले गरे चितवन राष्ट्रिय निकुञ्जको अवलोकन

Advertisement

कावासोती । वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७९÷०८० को पहिलो चार महिनामा ८६ हजार छ सय ४३ पयर्टकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा धेरै नेपाली पर्यटक रहेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । 

उनका अनुसार पहिलो चार महिनामा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ६५ हजार पाँच सय २९ नेपाली, सार्क मुलुकका सात हजार सात सय ८६ र अन्य मुलुकका १३ हजार तीन सय २८ जना रहेका छन् । कोरोना कहर सामान्य हुँदै गर्दा निकुञ्जमा विदेशी पर्यटकको आउजाउ बढेको यो विवरणले देखाउँछ ।

Advertisement

दसैँ तिहारलगायतका चाडपर्वपछि पनि पर्यटकको सङ्ख्या बढेको पूर्वी नवलपरासीको लामीचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले बताउनुभयो । घुम्न आउनेको सङ्ख्या बढ्दै गएपछि निकुञ्ज आसपासका होटल व्यवसायीसमेत उत्साही भएका छन् । अमलटारीमा होमस्टे सञ्चालन गर्दैै आउनुभएका छन्नुराम महतो आन्तरिक बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएकाले व्यवसायीमा समेत उत्साह थपिएको बताउँछन् ।  

यसैबीच निकुञ्जले आर्थिक वर्षको चार महिनाको अवधिमा रु पाँच करोड ९८ लाख ६२ हजार नौ सय २१  राजस्व सङ्कलन गरेको सूचना अधिकारी तिवारीले जानकारी दिए । निकुञ्जले सबैभन्दा धेरै पर्यापर्यटनबाट रु पाँच करोड १५ लाख ४८ हजार तीन सय ५० राजश्व सङ्कलन गरेको हो । त्यस्तै यो अवधिमा निकुञ्जले दण्ड सजायबाट रु ५१ लाख ८६ हजार पाँच सय ४४ राजस्व सङ्कलन गरेको तिवारीले जानकारी दिए । 

Advertisement

Advertisement