एकीकृत बचत तथा ऋण सहकारी संस्थाको साधारण सभाबाट १३ प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौं । रौतहटको चन्द्रपुर स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्थाको १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षता तथा चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय काफ्लेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । 

Advertisement

कार्यक्रममा चन्द्रपुर सहकारी शाखा प्रमुख नसरे आलम र सहकारी अभियन्ता कालिन्दी घिमिरेको विशिष्ठ आतिथ्यता तथा​ नवविकास साकोसका कोषाध्यक्ष दिनेश मैनाली, स्वस्तिक साकोसका  प्रतिनिधि, संकल्प साकोस प्रतिनिधि बलराम गौतम र  सफल साकोस सचिव प्रकाश तिमल्सिनाको आतिथ्यता रहेको थियो । 

उक्त अवसरमा संस्थाका अध्यक्ष खड्काले बैंकको पहुँचमा पुग्न नसकेका आफ्ना सदस्यहरुलाई स्वरोजगार बनाउने लक्ष्य रहेको बताए । हाल संस्थाको शेयर पूँजी १ करोड ६ लाख ८० हजार ९ सय रुपियाँ रहेको संस्थाका उपाध्यक्ष ऋषबदेब आचार्यले उल्लेख गरे । 

उक्त सभाबाट संस्थाका अध्यक्ष खडका, सचिब गणेशकुमार दाहाल, कोषाध्यक्ष पार्बती खडका र लेखा समितिका संयोजक जगदीप चौधरीद्वारा प्रस्तुत प्रतिवेदन पारित भएको थियो । 

आर्थिक वर्ष २०७८/७९ मा संस्थाले ३३ लाख रुपियाँ नाफा आर्जन गर्न सफल भएको छ । साथै साधारण सभाले शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थामा हाल २ हजार ४१ जना सदस्य र ६ जना कर्मचारी रहेका छन् । 

साधारण सभाको अवसरमा ८ जना जेष्ठ नागरिक, दुई जना असल ऋणी, ५ जना असल बचतकर्ता, यस वर्षको एसइइमा उत्कृष्ट शेयर सदस्यका सन्तानलाई रु १००५/- सहित सम्मान गर्नुका साथै उत्कृष्ट बाल सदस्यलाई सम्मान पनि प्रदान गरिएको थियो । 

कार्यक्रममा सहकारी अभियन्ता कालिन्दी घिमिरेलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिनुका साथै उत्कृष्ट कर्मचारी सम्मान बजार प्रतिनिधि रचना बोलखेलाई प्रदान गरिएको थियो । 


 

Advertisement

Advertisement