ए डिभिजन लिग समयमै हुनेमा आशंका, एन्फालाई नभाग्न क्लबहरुको सुझाव

Advertisement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबलको मेरुदण्ड मानिने शहीद स्मारक ए डिभिजन लिग पुस २६ बाट आयोजना गर्ने निर्णय गरिसकेको छ । महिना दिन बाँकी रहेको अवस्थामा सहभागि हुने क्लवले अहिलेसम्म दर्ता गराएका छैनन् । 

अघिल्लो संस्करणको वक्यौता रकम बाँकी रहेको अवस्थामा क्लवले सहभागिता जनाउन चाहिरहेका छैनन् । सहभागि हुने क्लवलाई एन्फाले पुस पहिलो साता भित्र क्लव दर्ता गराएर पहिलो किस्ताको तयारी खर्च लिन पत्राचार गरेपनि प्राविधिक हिसावमा भने क्लवहरु तयारी नपुगेको भन्दै चिन्तित छन् । यसले निर्धारित मितिमा नै लिग हुन्छ भन्नेमा अन्योलता भएको छ । 

Advertisement

लिग घोषित मितिमा नै गर्न एन्फाले क्लवलाई पत्राचार गरिसकेको छ । पुस पहिलो साताभित्र दर्ता गराए लिग तयारी खर्च दिने भनिए पनि क्लवले अघिल्लो संस्करणको लिगको वक्यौता रकम दिन माग राख्दै दर्तालाई विलम्व गरिरहेका छन् । वक्यौता रकम नपाएको भन्दै केही साता अघि मात्र अधिकांश क्लवले एन्फामा रकम भुक्तानीको ज्ञापन पत्र बुझाएका थिए । 

तिनै मध्येको संकटा क्लवका अध्यक्ष इन्द्रमान तुलाधरले एन्फाबाट पठाएको पत्र अनुसार तयारी खर्च उपलब्ध गराएको अवस्थामा क्लव दर्ता गर्न तयार भएको बताए । सधँै लिग आयोजना गर्दा ठूलो मात्रामा रकम खर्च हुने गरेको र छुट्टयाएको रकम समयमा पाउन नसक्दा क्लव सञ्चालनमा समस्या भएको उसको भनाई छ । 

क्लबले एन्फा र क्लवबीच डबल लिग, काठमाडौं भन्दा बाहिर लिग आयोजना र कम्तीमा पनि ६ महिना लिग सञ्चालनको अवधि निश्चित भएको खण्डमा मात्रै आफूहरु लिग खेल्न तयार भएको बताए । उनले तोकिएको मितिमा लिग हुन प्राविधिक हिसावमा कठिन हुने भएकाले लिग नहुनेमा क्लव चिन्तित भएको बताए । 

एन्फाले भने निर्धारित मितिमा नै लिग सञ्चालनका लागि क्लव दर्ता गर्दै प्रक्रिया पूरा गरेर तयारी खर्च लिनका लागि आह्वान गरेको छ । एन्फाका महासचिव किरण राईले पुरानो वक्यौता भुक्तानीका लागि प्रक्रिया अगाडि बढिसकेको बताए । त्यसका लागि एन्फाले मंसिर २३ सहभागी हुने सबै क्लवलाई पत्राचार गरेको र पुस पहिलो साता भित्र प्रक्रिया पूरा गरे क्लव दर्ता गरेर पहिलो किस्ताको रकम लिन आग्रह गरे । 

यससँगै लिगको विषयमा रहेको अन्योलता हटेको महासचिव राईले बताए । पछिल्लो समय फुटबल गतिविधि नहुँदा खेलाडीहरु विकल्पका बाटो रोजिसकेका छन् । केही खेलाडी व्यवसायिक फुटबलका लागि विदेशिएका छन् भने केही खेलाडीले फरक विधामा भविष्य खोजिरहेका छन् । मोफसलमा आयोजना हुँदै आएका प्रतियोगिता पनि एन्फाको क्यालेण्डरमा आयोजना हुन मुस्किल भइरकेको छ । 

Advertisement

Advertisement