काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले मर्जरका कारण बीमा क्षेत्रले लय समातेको दावी गर्दै यसबाट समग्र उद्योगले सिनर्जी पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बीमा क्षेत्रको मर्जर फलदायी बन्ने पक्का रहेको बताए । त्यसका पछाडी थुप्रै आधार आफूसँग रहेको सिलवालले जिकिर गरे । उनले बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा रोक्न पनि मर्जरको ठूलो भूमिका रहने भन्दै सिलवालले विगतको तुलनामा अहिले बीमा बजारमा सुधार देखिन थालेको पनि दावी गरे ।
अध्यक्ष सिलवालले धेरै पटक सबैले सुन्दै आएको अस्वस्थ प्रतिस्पर्धा समाप्त पार्न आफूले गृहकार्य गरिरहेको बताए । उनले पुँजीको पर्याप्तताका लागि बीमा क्षेत्रले नयाँ वातावरण पाउने अवसर सिर्जना भएको र प्रविधि प्रयोगमा पनि बीमा कम्पनीहरु दैनिक अब्बल बन्दै गएको बताए ।
सिलवालले भने, ‘बीमा कम्पनीहरुको पुँजी हामीले बढाएको तपाईंहरुलाई थाहै छ । यो आवश्यकता पनि बनिसकेको थियो । पुँजी वृद्धिकै कारण कम्पनीहरुलाई भोली खर्च गर्ने क्षमता पनि बलियो भएको छ । यसको मतलब कम्पनीको बचत पनि बलियो हुन्छ । बीमितलाई अप्ठ्यारो अवस्थामा तिर्न कम्पनीहरुसँग पर्याप्त पैसा भयो भने उनीहरुलाई नै सहज हुने हो ।’
अझै पनि बीमाको क्षेत्रको प्रविधि प्रयोग सोचे जस्तो पर्याप्त नरहेको सिलवालले स्वीकार गरे । उनले बीमा कम्पनीका कर्मचारीहरुलाई तालिम दिएर प्रविधि प्रयोगमा पनि अभ्यस्त बनाउनुपर्ने बताए । सिलवालले भने, ‘विस्तारै रियल टाइम डाटामा पनि हामी जनुपर्ने हुन्छ । यसमा मर्जरपछि पनि बीमा कम्पनीहरुले सघाउछन् भन्ने मलाई लागेको छ ।’
कर्मचारीहरुको दक्षता विकासका लागि काम गर्न प्राधिकरणले कम्पनीहरुलाई भन्दै आएको उनले बताए । यसले गर्दा भोलिको दिनमा कर्मचारीहरुले कामको गुणस्तरीया बढाउने अवसर पाउने बताउँदै सिलवालले मर्जरपछि विगतमा दुई ठाउँमा रहेको बीमा कम्पनीहरुको इनर्जी एक ठाउँमा आउने मौका मिल्ने बताए ।
उनले भने, ‘कम्पनीहरुको एकतामा नै ठूलो शक्ति हुन्छ भनेर हामीले मर्जरमा जोड दिएका छौं । जब बीमा कम्पनीहरु एक हुन्छन्, तब कम्पनीमा सुशासन पनि आउँछ ।’
साथै, अध्यक्ष सिलवालले मर्जरका क्रममा र मर्जरपछि कुनै पनि कम्पनीमा कर्मचारी कटौती गर्न नदिने बताए । उनले मर्जरका कारण कर्मचारी कटौती हुने शंका नगर्न आग्रह गर्दै प्राधिकरणका तर्फबाट आफूहरुले निर्देशन समेत दिइसकेको बताए ।
उनले भने, ‘बीमा कम्पनीहरु मर्जरमा जाने भनेसँगै यो कर्मचारी कटौतीको कुरा पनि बाहिर आउन थालेको हो । तर हामीले बीमा प्राधिकरणको तर्फबाट यदी कर्मचारीले इच्छा गरेर बस्छ भने त्यस्ता कर्मचारीलाई हटाउन मिल्दैन र उसले खाईपाई आएको सुविधा पनि घटाउन मिल्दैन भनेका छौं ।’
कर्मचारीले नयाँ कम्पनीमा धेरै तलब माग्यो भने त्यस्तो अवस्थामा कम्पनीले निर्णय गर्नसक्ने उनको भनाई छ । सिलवालले एउटा व्यक्तिका लागि पनि अन्याय नहुने र समग्रमा बीमा बजारमा पनि राम्रो थिति स्थापित गर्न आफू लागि परेको बताए ।
बीमा क्षेत्रमा कर्मचारी समायोजन ठूलो विषय रहेकाले कर्मचारीले काम गर्छु भन्दा कम्पनीहरुले पनि सकेसम्म समायोजन गर्नुपर्ने उनको भनाई छ । सिलवालले कर्मचारी समायोजनका विषयमा आफूहरुले परिपत्र समेत गर्नुपर्ने अवस्था आएको बताए ।
उनले थपे, ‘कम्पनीबाट एकमुस्ट पैसा लिएर अर्को कम्पनीमा जान चाहने कर्मचारीहरुलाई पनि अवसर दिन भनेका छौं । त्यसमा कर्मचारीको इच्छालाई पनि कम्पनीले ध्यान दिनुपर्छ ।’ केही कर्मचारीले अर्को बीमा कम्पनीमा जान चाहे भने उनीहरुको आशय बुझेर मात्र पठाउन आफूहरुले कम्पनीलाई सुझाव दिएको सिलवालले जानकारी दिए ।
उनले भने, ‘मिल्छ भने बीमा कम्पनीहरु उनीहरुलाई प्याकेज दिएर आफ्नैमा राख्ने हो । होइन भने पनि उनीहरुको आवश्यकता बुझ्नुपर्छ । किनभने यसबाट बीमा क्षेत्रमा कर्मचारीहरुको चाहना के कस्तो छ ? भन्ने थाहा हुन्छ ।’