राजनीतिक परिस्थितिमा परिवर्तन आए अवस्था अलग हुन्छ, अहिलेनै सरकारमा जाँदैनौंः नेपाल

Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यही अवस्थामा संघीय र प्रदेश सरकारहरुमा सहभागी नहुने स्पष्ट पारेका छन् । 

रौतहट–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको नेकपा एसका रौतहटबाट निर्वाचित संघीय र प्रदेश सांसदहरुको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् । 

Advertisement

राजनीतिक परिस्थितिमा परिवर्तन आएमा अवस्था अलग हुने उनको भनाई थियो । उनले भने– ‘हालै सम्पन्न निर्वाचनबाट आएको परिणामले निराश हुनु पर्ने अवस्था छैन, पार्टी संगठन बिस्तारमा ध्यान दिने, एक दिन जालमा माछा कसो नपर्ला ? हेक्का रहोस्, रौतहट मलाहाको जिल्ला हो, थारु समुदाय पनि माछा खाएरै हुर्किएका छन् ।’ 

आफूलाई रौतहट क्षेत्र नम्बर १ बाट पराजीत गर्न ठूलै चलखेल भएपछि त्यहाँका जनताहरुले माग गरेको उल्लेख गरे । गठबन्धनमै रहे पनि आफूलाई हराउन स्थानीय नेकपा माओवादी केन्द्रका नेताहरु सक्रिय भएर लागेको उनको आरोप थियो । उनले भने–‘मलाई निर्वाचित गराउन नेकपा माओवादी केन्द्रको कुनै हात छैन, बरु काँग्रेसको साथ सहयोग भने पाएँ ।’ 

समानुपातिमा आफूहरुले सोचे अनुसार मत नपाएपनि प्रत्यक्ष निर्वाचिततर्फ आफूहरु चौथो ठूलो दल भएको दाबी गरे । ‘यसकारण चिन्ता मान्नु पर्ने र निराश हुनुपर्ने अवस्था छैन’–अध्यक्ष नेपालको भनाई थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूहरुले शर्तसहित विश्वासको मत दिएको उनको भनाई थियो । 

सम्पर्क मञ्चका अध्यक्ष सचित कुईँकेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका नेता डा. बंशीधर मिश्र, विजय गुरुङ, रवीन्द्र बैठ, पार्वती विशंङ्खे, वरिष्ठ अर्थशास्त्री डा. चन्द्रमणी अधिकारी, सम्पर्क मञ्चका पूर्व अध्यक्षहरु नवराज तिमल्सिना, गोपाल श्रेष्ठ, मिन गौतम, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य खेम बोलखे, सम्पर्क मञ्चका सचिव नमोनारायण झा लगायत सम्पर्क मञ्चका दर्जनौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।    
 

Advertisement

Advertisement