आफूहरु मिटरब्याज र लघुवित्तबाट पीडित भएको भन्दै विरोध प्रदर्शन

Advertisement

काठमाडौं । मिटरब्याज तथा लघुवित्त पीडितहरुले जनकपुरधाममा सरकारबिरुद्ध प्रदर्शन गरेका छन् । बिहीवार मिटरब्याज तथा लघुवित्त पीडित संघर्ष समिमितले मधेस सरकारलाई १५ साउनमा बुझाएको ७ बुँदे मागसहितको ज्ञापनपत्रमाथि कुनै सुनुवाइ नभएको भन्दै सडक आन्दोलन गरेको हो । 

बिनाधितो ऋण दिने प्रलोभनमा पारेर चरम आर्थिक शोषण गर्दै आएको भन्दै जनकपुरधाममा मिटरब्याजबाट पीडितहरुले मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाबिरुद्ध प्रदर्शन गरे । उनीहरुले जनकपुरको रंगभूमि मैदान बाह्रविघाबाट शुरु भएको पीडितहरुको जानकीचोक, जनकचोक, रामचोक, कदमचोक, भानुचोक र मिल्स क्षेत्रमा बिरोध प्रदर्शन गरे । 

Advertisement

संघर्ष समितिका संयोजक मनोज पासवानले कानून भन्दा बाहिर गएर मिटरब्याज र लघुवित्तले आफूहरुलाई मारमा पारेको बताए । उनले मिटरब्याज पीडितमाथि सुतखोरको शोषण बढेको, मुद्दा लगाएर जेल पठाउने काम गरिरहेको र घर, घडेरी, सम्पत्ति गैरकानूनी रुपमा कब्जा गर्ने काम गरेको बताए । 

संर्घष समितिले मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, पीडितहरुको जफत गरिएको सम्पत्ति फिर्ता गर्नुपर्ने, मिटर ब्याजीको सम्पत्ति छानबिन गर्नुपर्ने, सहुलियत दरमा ऋणको व्यवस्था, मिटर ब्याजीबाट पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीबाट पीडितमाथि गरिएको यौन शोषणको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ । 

यस्तै तमसुक व्यवस्था खारेज गर्नुपर्ने, लघुवित्तको ज्यादती बन्द हुनुपर्ने, गरिबलाई झुक्याएर पैसा लुट्ने लघुवित्त माथि कारबाही गर्नुपर्ने लगायतको माग छ । प्रदर्शनमा सहभागीहरूले सुदखोरहरूलाई गिरफ्तार गर्, तमसुक व्यवस्था खारेज गर्, मिटरब्याजीको सम्पति छानबिन गर्, पीडितको सम्पत्ति फिर्ता गर्, मिटरब्याजीले गरेको यौन शोषणको छानबिन गरी दोषीलाई कारवाही गर् लगायतका नाराहरू लगाएका थिए ।

Advertisement

Advertisement