आफ्नै देशमा उत्पादित सामग्रीहरुको प्रयोग गर्ने हो भने व्यापार घाटा नियन्त्रणमा आउँछः पाण्डे

Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको वृद्धि गर्न आग्रह गरेका छन् । 

बिहीवार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हु्न । उपाध्यक्ष पाण्डेले नेपालीहरु स्वदेशी उत्पादन भन्दा विदेशी उत्पादनलाई प्राथमिकता बढी दिने गरेको भन्दै सामुदायिक रेडियोहरुले स्वदेशी उत्पादन चलाउनुपर्छ भन्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

Advertisement

उनले विदेशी उत्पादनलाई प्राथमिकता राख्दा अर्बौं व्यापार घाटा भइरहेको उल्लेख गर्दै सबै नेपालीहरुले स्वेदशमा नै उत्पादित सामग्रीहरुको प्रयोग बढाउनुपर्ने बताए । उनले नेपालीहरुले आफ्नै देशमा उत्पादित सामग्रीहरुको प्रयोग गर्ने हो भने व्यापार घाटा नियन्त्रणमा आउने दाबी गरे । 

उनले भने, ‘सामुदायिक रेडियोहरुलाई बचाइराख्नुपर्छ । यसमा साथ सहयोग दिन म तयार छु । रेडियोसँग सम्बन्धित ऐन बनाउँदा यो ऐनबाट तपाईहरुलाई माया गर्नुपर्ने ठाउँ खोज्दा म त्यसको साथमा अग्र पंक्तिमा रहनेछु । आज हामी हाम्रो स्वदेशी उत्पादनलाई माया गर्ने कुरामा ध्यान दिन जरुरी छ । हामी व्यापार घाटामा खर्बौं रपैयाँ घाटामा जाने गर्दछौँ । हाम्रो आफ्नो उत्पादन हामी वृद्धि गर्न सक्दैनौँ । विदेशी उत्पादन प्रयोग गर्छौं तर सामुदायिक रेडियोहरुले स्वदेशी उत्पादन प्रयोग गरौँ भन्ने अभियान प्रचार गर्नुपर्छ ।’

उपाध्यक्ष पाण्डेले रेडियोसँग सम्बन्धित ऐन बनाउँदा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता जनाए । 

Advertisement

Advertisement