काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिन लागेका आफ्ना उम्मेदवारलाई नेपाली कांग्रेसले धम्क्याएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
आज (आइतबार)लाई पत्र बुझाउँदै सो पार्टीले हुम्ला सर्केगाड गाउँपालिकामा कांग्रेसले आफ्ना उम्मेदवारप्रति गरेको व्यवहारको बारेमा जानकारी गराउनुका साथै दोषीलाई कारवाही गर्न, निर्वाधरुपमा निर्वाचनमा भाग लिने वातावरण बनाउन आग्रह गरेको छ ।
यही मंसिर १६ गते हुन गइरहेको निर्वाचनमा हुम्ला सर्केगाड गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारका लागि तयार रहेकी सुजना थापा, उनका श्रीमान बल थापालाई शनिबार दिउसो करिब १ बजे कांग्रेसका ४०–४५ जना युवा आएर घरबाट लछारपछार गर्दै अपहरणको शैलीमा अज्ञातस्थलतर्फ लगेको, त्यसलगत्तै गाउँमा खैलाबैली भएको, सो कुरा थाहा पाउनासाथै हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेलाई खबर गरेपछि खोजतलास र उद्दारका लागि प्रहरी परिचालन गरिसकेको बताएको रास्वपाको पत्रमा उल्लेख छ ।
रास्वपाका उम्मेदवारलाई अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगेर उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुनसक्नेसम्मको यातना दिइएको पाइएको भन्दै सो पार्टीले घटनापछि सुजाता थापा र उनको परिवार मानसिक तनावमा देखिएको, असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुगेको बताएको छ । यसरी आफ्ना उम्मेदवारलाई धम्क्याउने, लछारपछार गरी अपहरण गर्नेहरु कांग्रेसका कार्यकर्ता रहेको खुलेको रास्वपाले जनाएको छ ।
सोही पालिकामा उम्मेदवारी दिन र प्रचारप्रसारमा खटिएका आफ्ना पार्टीका सदस्यहरुलाई पनि कांग्रेसले धम्क्याउने, प्रलोभन देखाउने, मानसिक दबाब दिने काम गरेको भन्दै रास्वपाले मधेसका केही क्षेत्रमा पनि त्यस्तै समस्या देखिएको बताएको छ । आफ्ना उम्मेदवारहरुप्रति गरिएको यस व्यवहारलाई सो पार्टीले चरम अप्रजातान्त्रिक भएको भन्दै त्यसको निन्दा गरेको छ । यस्ता घट्नामा स्थानीय प्रशासन र सुरक्षा निकायबाट संभव हुने सहयोग समेत नपाएको रास्वपाको भनाई छ ।
स्थानीय निर्वाचनमा सहभागी हुने लागेको संसदको चौंथो ठूलो दलप्रति भएको निकृष्ट र अप्रजातान्त्रिक व्यवहारले आफूहरुलाई दुखी बनाएको भन्दै रास्वपाले साथै निर्वाचन प्रक्रियाप्रति नै आम जनमानसमा अविश्वास र त्रास समेत सिर्जना गरेको बताएको छ । निर्वाचनलाई स्वच्छ र धाँधलीरहीतरुपमा सम्पन्न गर्न अबिलम्ब आवश्यक कदम चाल्न आग्रह गरेको छ ।