काठमाडौं । नेपाल उद्योग परिसंघ र इण्डियन चेम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रबर्द्धनलगायतमा सहकार्य गर्न समझदारी भएको छ ।
समझदारी पत्रमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र इण्डियन चेम्बरका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गरेका छन् । दुई संस्थाबीच लगानी तथा व्यावसाय प्रवद्र्धन, अध्ययन तथा अनुसन्धान, आपसी सहयोग, सूचना तथा जानकारीहरुको आदानप्रदान लगायतमा सहकार्य हुनेछ ।
काठमाडौंमा आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले भारतको सबै भन्दा पुरानो संस्था इण्डियन चेम्बरसँगको सहकार्यले दुई देशबीच व्यवसायिक सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रबद्र्धनलगायत दुई देशका उत्पादन तथा सेवाहरुको प्रबद्र्धनमा दुई संस्थाबीच सहकार्य हुने बताए ।
इण्डियन चेम्बरका वरिष्ठ उपाध्यक्ष प्रभुले यस किसिमको सहकार्यले नेपाल र भारतबीचमा उद्योग, व्यापार र लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोज्न महत्वपूर्ण हुने बताए ।
परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीचको सहकार्यले उद्योगीहरुका समस्या, चुनौतीहरुको पहिचान एवं समाधानका लागि दुबै संस्थाले लविङ गर्ने र दुई मुलुकबीचको आर्थिक हितमा काम गर्ने बताए ।
कार्यक्रममा परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, हेमराज ढकाल, परिसंघ सदस्य समिति सभापति सन्दिप शारदा, महानिर्देशक दिपकराज जोशी, इण्डियन चेम्बरका महानिर्देशक डा. राजीव सिंहलगायत सहभागी थिए ।