देउवा र आरजुविरुद्ध स्वर्णिम वाग्लेको विद्रोह, कांग्रेस परित्याग, तनहुँ– १ बाट उठ्नसक्ने

Advertisement

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध विद्रोह गर्दै कांग्रेस परित्याग गरेका छन् । 

उनले आफू कांग्रेसमा नरहेको सन्देश पनि पार्टीका केही पदाधिकारीलाई पठाएका छन् । यसअघिको संसदीय निर्वाचनमा देउवाले टिकट नदिएपछि रुष्ट भएका वाग्लेलाई आउँदो उपनिर्वाचनमा तनहुँ–१ बाट उम्मेदवार बन्न राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्ताव गरेको छ ।

Advertisement

उपचुनाव लड्ने योजनासहित वाग्लेले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु शेखर कोइराला र गोविन्दराज पोखरेललाई ह्वाट्सएपमा सन्देश पठाएर कांग्रेस छाडेको जानकारी गराएका छन् । 

वाग्लेले लेखेका छन्, ‘हजुरहरुको अपार सद्भावका बाबजुद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’

‘निर्णय लिनुअघि भेटेको भए निश्चय पनि तपाईंहरुले कांग्रेस नछोड्न भन्नु हुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकाले नभेटिकन नै कांग्रेस छाडेको उनले बताएका छन् । वाग्लेले चार नेतालाई कांग्रेस पार्टीमा उनीहरुको निर्णायक हैसियत बनेको दिन कुनै न कुनै रुपमा जोडिनसक्ने आशा समेत व्यक्त गरेका छन् । 

चार नेतालाई ह्वाट्सएप सन्देश पठाएपछि मोवाइल अफ गरेर बसेका वाग्लेले निर्णयले राजनीतिक तरंग ल्याएको छ । यसअघिको संसदीय निर्वाचनमा स्वतन्त्र पार्टीले काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्न आग्रह गर्दा कांग्रेसबाट टिकट पाउने आशामा उनले अस्वीकार गरेका थिए । अन्तिममा देउवाले उनलाई टिकट दिन नमानेपछि उनी निराश भएका थिए । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि त्यतिबेला उनलाई टिकट दिन खोजेका थिए । 

त्यतिबेला कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा रहेका वाग्लेले चुनावी घोषणापत्रका पक्षमा प्रखर भएर वकालत गरेका थिए । 

यस्तो छ वाग्लेको सन्देशः 

प्रिय शेखर दाई, गगनजी, विश्वप्रकाशजी र गोविन्दजी,
हजुरहरुको अपार सद्भावका बावजूद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा(आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो। अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहें। यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चयपनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछिनै हामी बस्नेछौं। काँग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ। त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु।

स्वर्णिम

Advertisement

Advertisement