काठमाडौं । राजधानी नजिकैको आकर्षक पर्यटकीय स्थल नगरकोटमा ठेट नेपाली स्वाद र संस्कृति झल्काउने ‘तायो इको रिसोर्ट’ सञ्चालनमाआएको छ । एक अर्ब रुपियाँ लगानी भएको यो लक्जरी रिसोर्ट हो ।
नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष तथा महाप्रवन्धक सुगतरत्न कंसाकारले लगानी गरी सञ्चालनमा ल्याएको यो रिसोर्ट स्वदेशी पर्यटकले गर्व अनुभव गर्ने र विदेशी पर्यटकलाई नेपालीपन अनुभव गराउने उद्दश्यले सुरु गरिएको रिसोर्टका महाप्रवन्धक रमेश पन्तले बताए ।
समुन्द्री सतहबाट सात हजार फिटको उचाइमा रहेको यस रिसोर्टमा काठमाडौंको सुन्दर साँस्कृतिक शहर, सुन्दर हरियाली, रिसोर्टको परम्परागत शैलीसँगै खानेकुरा खाएर आराम गर्न सकिन्छ । पाँच तारेस्तरको यो रिसोर्टलाई बुटिक रिसोर्ट भन्न सकिने पन्तले बताए । उनले बुटिक रेटिङको लागि नेपाल पर्यटन बोर्डलाई पत्र पठाइसकेको बताए ।
करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको तायो इको रिसोर्टको भित्री र बाहिरी डिजाइन नेपालीपन झल्काउने किसिमले डिजाइन गरिएको छ । रिसोर्ट गएको डिसेम्बर ३० बाट सञ्चालनमा ल्याइएको हो । नेपाली र नेवारी परम्परागत स्वाद र संस्कारलाई जीवन्त राख्ने उद्देश्यसहित सञ्चालनमा रहेको रिसोर्टलाई इको अथवा वातावरण एवं प्रकृतिमैत्री बनाउन पनि उत्तिकै काम गरिरहेको पन्तले बताए
रिसोर्टको नाममा रहेको ‘तायो’को अर्थ जीवत देवी मानिने ‘कुमारी’को सबैभन्दा महत्वपूर्ण गहना अथवा ‘लकेट’ हो । तायो रिसोर्टले बट्टाई, कालिज, सिस्नु, कडकनाथ, लोकल कुखुरा, गुन्द्रुक जस्ता स्थानीय उत्पादनहरूको प्रवर्द्धन गरिरहेको छ । रिसोर्टका सबै कोठाहरुमा मुहानकै पानी पुर्याइएको उनले बताए । पन्तले भने, ‘हामीले कुनै पनि खाना अर्डर आएपछि मात्रै तयार गर्छौं । यस्तो गर्दा केही समय लाग्ने भए पनि सय प्रतिशत शुद्ध र ताजा खाना उपलब्ध गराउँछौं ।’
तायो इको रिसोर्टले भेगन (शाकाहारी) आगन्तुकहरुका लागि पनि विशेष रुपमा भेज खाना उपलब्ध गराइरहेको छ । खानामा कुनै पनि किसिमको रङ प्रयोग नगरी प्राकृतिक रङमा खाना प्रस्तुत गर्छ । रिसोर्टलाई वातावरणमैत्री बनाउन भवनका भित्ता ‘क्याभिटी’ बनाइएको छ । दुई तहमा बनाइएको भित्तालाई ‘क्याभिटी’ भनिने पन्तले बताए । दुवै भित्ताको बीचमा खाली हुन्छ, जसले बाहिर चिसो वा गर्मी भए पनि भित्रको तापक्रम सन्तुलित राख्न मद्दत गर्छ ।
रिसोर्टको बगैंचामा आकाशको पानीलाई संकलन गरेर प्रयोग गर्ने गरिएको छ । पानी तताउन र अन्य कुराहरुका लागि सौर्य उर्जाको प्रयोग गरिएको छ । रिसोर्टमा कर्पोरेट पिकनिकका लागि समेत सुविधा रहेको पन्तले बताए । उनले रिसोर्टमा फलाम, स्टिलको विकल्पमा पूरै काठ मात्रै बढी प्रयोग गरिएको बताउँदै थपे, ‘रिसोर्टमा आउटडोर जाकुजी, स्विमिङ पुल, स्पालगायतको सुविधाहरु पनि छ । बालबालिका र वयष्क दुवैका लागि प्ले ग्राउण्ड पनि छ ।’
रिसोर्टको फराकिलो परिदृश्यमा १० वटा लक्जरी भवनहरू रहेको छ । त्यस्तै, रिसोर्टमा ७० जनाभन्दा बढी कर्मचारी कार्यरत छन् । सभा हल, आउटडोर एक्टिभिटि, योगा, आध्यात्मिक क्रियाकलापका लागि छुट्टै बगैंचा सहितका सुविधा रहेको तायो इको रिसोर्ट नगरकोटको शान्ति डाँडामा रहेको छ । यहाँबाट काठमाडौं उपत्यका र हिमाल दुवैतर्फको मनोरम दृष्यावलोकन गर्न सकिन्छ ।
तायो इको रिसोर्टले अन्तर्राष्ट्रिय चेन लिने प्रक्रिया समेत सुरु गरेको छ । नयाँ वर्षको लागि विशेष अफर ल्याएको रिसोर्टले प्रतिजोडी २५ हजार रुपियाँ र एकललाई नयाँ वर्षको दिन निःशुल्क डोमेस्टिक लिकर (घरेलु मदिरा), वाइन, बियर एण्ड सफ्ट ड्रिङ्क्स, डिनर, स्न्याक (खाजा), विशेष बफेट ब्रेकफास्ट, अकोमोडेशन इन डिलक्स रुम र डिजे लाइभ क्युजिकको व्यवस्था रहेको छ ।