व्यवसायीहरुले बजारबाट उधारो उठाउन नसक्दा बैंकको किस्ता तिर्न सकेनन्ः अग्रवाल

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा संकुचन आएको बताएका छन् । 

सोमवार सातौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले उद्योग परिसंघले गरेको विभिन्न अध्ययन प्रतिवेदन अनुसार मुलुकभर उत्पादन वस्तुको मागमा ४० देखि ८० प्रतिशत संकुचन आएको देखाएको बताए । अग्रवालले पछिल्लो समय उद्योगी व्यवसायीहरु कठिन अवस्थामा गुज्रिएको बताए । 

Advertisement

व्यवसायीहरुलाई बैंकको उच्च ब्याजदरको कारण समस्यामा रहेको बताउँदै उनले पछिल्लो समय कागजी रुपमा बैंकहरुमा तरलताको अभाव नदेखिए पनि उद्योगी व्यवसायीहरुले सहजरुपमा कर्जा पाउन नसकेको बताए । अग्रवालले व्यवसायीहरुले बजारबाट उधारो उठाउन नसक्दा बैंकको किस्ता तिर्न समेत नसकिरहेको बताए । 

उनले भने, ‘अहिले उद्योगी र व्यवसायीहरु कठिन परिस्थितिमा गुज्रिरहेका छन् । व्यवसायीहरुले बैंकको उच्च ब्याजदरको समाना गर्नु परेको छ । बैंकहरुमा तरलताको अवस्था सुधार भए पनि कागजमा सिमित हुँदा उद्योगी व्यवसायीहरुले अझै ऋण पाउन समस्या छ । व्यवसायीहरुले बजारबाट उधारो उठाउन नसक्ने कमजोर अवस्था देखापरेको छ । व्यवसायीहरुले बैंकको किस्ता तिर्न सकिरहेका छैनन् । परिसंघको सर्वेमा बजारको मागमा संकुचन आएको छ । मागमा ४० देखि ८० प्रतिशतको कमी आएको छ । परिसंघले सरकार र नागरिकहरुलाई वर्तमान आर्थिक समस्याको समाधान गरी सकारात्मक बनाउन पहल गरिरहेको छ । सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउन केही कदमहरु चाल्न आवश्यक छ । सरकारले समयमा नै पुँजीगत खर्च गर्नुपर्छ । यतिबेला सरकारले उद्योगी व्यवसायीको मनोवल उच्च बनाउने काम गर्न खाँचो छ ।’

अग्रवालले वर्तमान आर्थिक समस्याको समाधान गरी सरकारले सकारात्मक सन्देश दिन सक्नुपर्ने बताए । उनले  सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउन केही कदमहरु चाल्न आवश्यक रहेको बताए । अग्रवालले सरकारले समयमा नै पुँजीगत खर्च गर्न नसक्दा पनि धेरै समस्या देखिएको बताए । 

Advertisement

Advertisement